• २३ फागुन २०८२, शनिबार

धनुषा–४ मा करिब ५० हजार मतगणना बाँकी, अग्रस्थानमा रास्वपा

blog

विजयकुमार साह

ढल्केबर (धनुषा), फागुन २३ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म कुल ३३ हजार ८७० मत गणना भइसकेको छ भने अझै करिब ५० हजार मत गणना हुन बाँकी रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा कुल मतदाता सङ्ख्या १ लाख २७ हजार ७७८ रहेको छ । त्यसमध्ये ८३ हजार ९६७ मत खसेको थियो ।

हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजकिशोर महतो अग्रस्थानमा हुनुहुन्छ । उहाँले २० हजार ३४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ६ हजार ६३८ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले ३ हजार ४६० मत प्राप्त गर्नुभएको छ ।

यस निर्वाचन क्षेत्रमा कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणना जारी रहेको बताउँदै अधिकृत खतिवडाले आइतबार बिहानसम्म प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरी सक्ने जानकारी दिनुभयो।