• १४ वैशाख २०८१, शुक्रबार

एक महिनाभित्र समन्वय समिति

blog

नगेन्द्र सापकोटा   

काठमाडौँ, जेठ १५ गते ।  स्थानीय तह निर्वाचन गर्न बाँकी दुई स्थानबाहेक ७५१ स्थानीय तहको नतिजा आइसकेको छ । यससँगै स्थानीय कार्यपालिकाको निर्वाचन पनि  भइरहेको छ ।  कार्यपालिकाको निर्वाचनसँगसँगै ७७ जिल्लामा स्थानीय तहको जिल्ला समन्वय समिति पनि गठन भइसक्नेछ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित सदस्यमध्येबाट प्रमुख र उप्रमुखसहित बढीमा नौ जनाको समिति रहेको जिल्ला समन्वय समिति गठन हुनेछ।

स्थानीय तह निर्वाचनको परिणाम आएको ३० दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने र सभाको बैठकबाटै जिल्ला समन्वय समिति गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानमा निर्वाचनको नतिजा प्राप्त भएको एक महिनाभित्र जिससको निर्वाचन गरी जिल्ला सभाको पहिलो बैठक बसिसक्नुपर्ने उल्लेख भएकाले सबै जिल्लामा आगामी  एक महिनाभित्र जिल्ला समन्वय समिति गठन भइसक्नेछ ।  

जिल्ला समन्वय समिति महासङ्घ नेपालका महासचिव कृष्णचन्द्र न्यौपानेले भन्नुभयो, “अधिकांश जिल्लाभित्रका पालिकाको नतिजा सार्वजनिक भइसकेकाले अबको एक महिनाभित्रमा सबै जिल्लाको जिल्ला सभा गठन भइसक्नेछ ।” 

स्थानीय तह निर्वाचन ऐनअनुसार जिल्ला सभा निर्वाचनका लागि गाउँ र नगर सभाका सदस्य उम्मेदवार बन्न सक्नेछन् तर उक्त  निर्वाचनका मतदाता भने सम्बन्धित गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुखमात्र रहने  व्यवस्था छ । 

उहाँका अनुसार जिल्ला समन्वय समिति गठनका लागि जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ जना सदस्य रहने व्यवस्था छ । जिल्ला समन्वय समितिले जिल्ला सभाका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यसम्पादन गर्नेछ ।