• २५ वैशाख २०८१, मङ्गलबार

आगलागी पीडितलाई जिल्ला विपद् व्यवस्थापन समितिकाे २० हजार रुपियाँ राहत

blog

राहत वितरण गरिँदै ।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, वैशाख १४ गते । जिल्ला विपद् व्यवस्थापन समितिले मटिहानीमा भएको भीषण आगलागीबाट बेघर भएका परिवारहरुलाई २० हजार नगद उपलब्ध गराउने निर्णय गरेको छ । 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बिहीबार बसेको बैठकले स्थानीय तह, नेपाल प्रहरी, रेडक्रस सोसाइटीले क्षतिको विवरण सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउने र सोही अनुसार समितिले तत्कालै पीडित परिवारलाई २० हजार नगद सहयोग गर्ने निर्णय गरेको हो ।

समितिले आगलागी पीडितहरुलाई राहत, अस्थायी बसोबासको लागि राष्टिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा भएको आगलागीबारे जानकारी गराउनुहुँदै ९१ वटा कच्ची, ९ वटा अर्धपक्की गरी १०० वटा घर जलेको, ४६२ व्यक्ति प्रभावित भएको जानकारी गराउनुका साथै मटिहानी नगरपालिकाबाट आगलागी पिडित प्रति परिवार २५ किलो चामल, चार किलो दाल र पाँच हजार नगद वितरण गरिएको जानकारी गराउनुभएको थियो ।

समितिले वुधबार मटिहानी नगरपालिकाको वडा नं. ६ को जरलहवा वस्तीमा भएको भिषण आगलागीलाई नियन्त्रणमा लिन नेपाली सेनाबाट १५४ जना, नेपाल प्रहरीबाट १०० जना, सशस्त्र प्रहरी बल, नेपालबाट १२० जनाको टोली तथा स्थानीय बासिन्दाहरु खटिनुका साथै भारतसहित नेपालका १० वटा वारुणयन्त्र प्रयोग गरिएको जनाएको छ । 

समितिले दैनिकजसो आगलागीका घटना देखापरिरहेको वर्तमान अवस्थामा आगलागीबाट बच्न र बचाउनका लागि आवश्यक जनचेतनामूलक सामग्रीहरु स्थानीय भाषामा तयार गरी स्थानीय पत्रपत्रिका, एफ. एम. रेडियोबाट प्रसारण हुने व्यवस्था स्थानीय तह, जिल्लामा क्रियाशील गैरसरकारी सङ्घ संस्थाले मिलाउने तथा स्थानीय तहले स्थानीय रुपमा माइकिङ गर्ने निर्णय गरेको छ ।

यसैबिच, मटिहानी नगरपालिका ६ जरलहवा बस्तीका आगलागी पीडितहरुलाई राहत वितरण कार्य शुक्रबार पनि जारी छ । शुक्रबार सेभ द चिल्ड्रेन र युकेएआइडीको सहयोग तथा रतौली युवा क्लब र मटिहानी नगरपालिकाको समन्वयमा आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।

आगलागी पीडितहरुलाई डिगनीटि किट, सरसफाइ सामग्री, भान्सा घरमा प्रयोग हुने भाँडावर्तन सेट, पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक पर्ने सामग्रीको किट गरी ५० किसिमका सामग्री वितरण गरिएको रतौली युवा क्लबका प्रमुख वैद्यनाथ चौधरीले जानकारी दिनुभयो । राहत वितरण जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल, मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डल, नेपाली सेना परिकौली व्यारेकका कर्णेल विशेष पौडेल, सेभ द चिल्ड्रेनका घना भुसालसहितले गर्नुभएको थियो ।

बिहीबार राति आगलागी पीडितहरुलाई नेपाली सेनाका परिकौली ब्यारेकले सामूहिक रुपमा खाना खुवाएकाे थियाे ।