• ६ असार २०८२, शुक्रबार

क्यान्सर रोगका बिरामीलाई घरमै उपचार सुविधा

blog

धरान, असार ६ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गरी सहज रूपमा उपचार तथा हेरचाह पुर्‍याउने उद्देश्यले घरमै गएर उपचार दिने सेवाको प्रारम्भ गरेको छ । 

क्यान्सरका बिरामीलाई लक्षित गरी आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरू सर्वसाधारणहरूलाई सहज रूपमा उपलब्ध गराउन प्रतिष्ठानले स्वास्थ्यकर्मीहरूको टोलीले घरैमा गएर उपचार गर्ने व्यवस्था मिलाइएको बिपी प्रतिष्ठानको सह–प्रवक्ता डा.अभिजीत कुमारले जानकारी दिनुभयो । 

यस प्रकारको सेवाले क्यान्सरका कारण दुखाइको पिडाले असह्य भएर छटपटाइ रहेको तथा कमजोर भई घरमा थलिएर बसेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितिको सामना गर्नुपरेका बिरामी तथा आफन्तजनका लागि ठुलो राहत दिने विश्वास प्रतिष्ठानले लिएको छ । यो सेवा काठमाडौँ बाहेक धरानमा नै पहिलो पटक रहेको सह–प्रवक्ता डा.कुमारले जानकारी दिनुभयो । 

यस सेवा लिनको लागि प्रतिष्ठानको आन्तरिक चिकित्सा विभाग अन्तर्गतको ओन्कोलोजी एकाइस“ग समन्वय गरी सर्वसाधारणले सेवा लिन सकिने छ । उक्त सेवाको लागि प्रतिष्ठानले हाललाई प्रति भिजिट पन्ध्र सय शुल्क निर्धारण गरेको छ भने विपन्न बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरिएको छ । हाललाई यो सेवा धरान उपमहानगरपालिका भित्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । 

घरमै गएर उपचार गरिने यस प्रकारको कार्यक्रममा क्यान्सर रोग भएका सिकिस्त बिरामीहरूलाई क्यान्सर सम्बन्धी प्रशिक्षित नर्सहरू र डाक्टरहरू लेभेटी, लक्षण व्यवस्थापन गर्ने, उपशामक व्यवस्थापन गर्ने, भावनात्मक-आध्यात्मिक सहयोग गर्ने जस्ता कार्यका साथै पारिवारिक परामर्श प्रदान गर्ने गरिन्छ सह–प्रवक्ता डा.कुमारले जानकारी दिनुभयो । 

यसै गरी उपचारका लागि आउने बिरामीहरूको सुविधाका लागि ओपिडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्न मोबाइल एपको नयाँ“ संस्करण सार्वजनिक गरेको सह–प्रवक्ता डा.कुमराले जानकारी दिनुभयो । सेवाको पहुँच, पारदर्शिता र सेवा ग्रहण प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउन सुविधाहरू थप गरिएको हो ।  

यस मोबाइल एप मार्फत सेवाग्राहीहरूले घरमै बसेर जेनेरल ओपिडी टिकट दर्ता गर्न सक्नेछन् । एपमा लग इन गरी आफूले देखाउन चाहेको ओपिडी चयन गरी भुक्तानीको प्रक्रिया पश्चात् दर्ता भइसकेको जानकारीका साथै टोकन नम्बर प्राप्त गर्न सक्ने छन् ।

सो टोकन नम्बरको आधारमा अस्पतालको सम्बन्धित ओपिडीमा आएर ओपिडी टिकट तथा चिकित्सकलाई देखाउने टोकन प्राप्त गर्न सक्नेछन् । साथै ओपिडी टिकट बापतको शुल्क आएमइपे र खल्ती नामका माध्यमबाट भुक्तानी गर्न सकिने छ ।

विद्यार्थीहरूको चिकित्सकीय अभ्यासलाई बृहत् बनाउने उद्देश्यले प्रतिष्ठानमा स्नातक तहका विद्यार्थीका लागि विद्यार्थी अन्कोलोजी शाखा पनि स्थापन गरिएको छ । यस शाखामा रहेर विद्यार्थीले क्यान्सर रोकथाम र जागरूकतामा योगदान पुर्‍याउनु, विद्यार्थी र आमजनतामा क्यान्सर शिक्षा, जागरूकता र निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवर्धन गर्नुका साथ प्रतिष्ठान र समुदाय बिच पुलको रूपमा काम गर्ने गरेको छ । 

चिकित्सा विज्ञानको क्षेत्रमा अनुसन्धानको ठुलो महत्त्व रहेको हुँुदा प्रारम्भिक चरणदेखि नै विद्यार्थीहरूलाई अनुसन्धानको क्षेत्रमा आबद्ध गराई अनुसन्धान सम्बन्धी ज्ञानलाई बलियो बनाउने उद्देश्यले विद्यार्थी अनुसन्धान शाखाको समेत स्थापना गरिएको सह–प्रवक्ताले कुमारले जानकारी दिनुभयो  । 

Author

निशा राई