• २३ वैशाख २०८१, आइतबार

कक्षा १२ को परीक्षा दिँदै ५७ वर्षीय त्रिपाठी

blog

शुक्रबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सामेल हुनुहुँदै ५७ वर्षीय टीकाराम त्रिपाठी । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १४ गते ।
पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ५७ वर्षीय टीकाराम त्रिपाठी कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको छ । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को परीक्षामा त्रिपाठी सहभागी हुनुभएको हो ।

कालिका माध्यमिक विद्यालय मान्द्रेढुङ्गाका विद्यार्थी त्रिपाठीको परीक्षा केन्द्र पोखरा–३ को कन्या माविमा परेको छ । त्रिपाठी शिक्षाशास्त्रका विद्यार्थी हुनुहुन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले नेपालका ७७ जिल्ला र जापानमा एक गरी एक हजार पाँच सय २६ परीक्षा केन्द्र तोकेको छ । यसपालि चार लाख ९१ हजार चार सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

कक्षा १२ को प्रश्नपत्र इमेलबाट पठाएर परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि मात्र प्रिन्ट गरिएको छ । गण्डकी प्रदेशका मनाङ/मुस्ताङमा देशमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व भने प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलले हेर्ने गरेको छ ।

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकाटाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाहेक गण्डकी प्रदेशबाट ३७ हजार दुई सय ३० जना कक्षा १२ को परीक्षामा समेल भएको जानकारी दिनुभयो । गण्डकीमा नियमित २९ हजार २ सय ३५ र आंशिक सात हजार नौ सय ९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् ।

कास्कीमा ४२ वटा, स्याङ्जामा १९, तनहुँ र बाग्लुङमा १६, गोरखामा ११, लमजुङ र पर्वतमा सात र म्याग्दीमा पाँच परीक्षा केन्द्र तोकिएका छन् । यो परीक्षामा कास्कीबाट १२ हजार ६२ नियमित र दुई हजार सात सय नौ आंशिक परीक्षार्थी सहभागी बनेका छन् । मनाङमा नियमित ३९ र आंशिक पाँच, गरी ४४ जना र मुस्ताङमा नियमित ६३ र आंशिक ३५ गरी ९८ जना परीक्षामा सहभागी बनेको प्रमुख देवकोटाले जानकारी दिनुभयो ।