रमेश विश्वकर्मा
गुल्मी, असार ४ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । “स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, सुशासनसहितको समृद्ध हाम्रो आधार” भन्ने नारालाई आत्मसात् गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले गाउँ सभाको २० औं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा “स्थानीय सरकार सारथी” कार्यक्रममार्फत ५० वर्ष उमेर पुगेका एकल महिला तथा पुरुषहरुलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने उल्लेख गरिएको छ । गाउँपालिकाभित्रका भूमिहीन दलित तथा सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गरेका परिवारलाई जग्गा उपलब्ध गराउने, “विकासको आधार, गुणस्तरीय पूर्वाधार निर्माण” भन्ने नारालाई सार्थक बनाउन स्मार्ट र दिगो पूर्वाधार निर्माणमा जोड दिइने उहाँले बताउनुभयो ।
वन जङ्गलमा रहेका औषधीय गुण भएका जडीबुटीहरुको खोज अनुसन्धान गरी प्रयोग तथा प्रवर्धन गर्ने कार्यलाई अगाडि बढाइने र सामुदायिक वनसँगको समन्वयमा यस क्षेत्रको हावापानीमा हुन सक्ने जडीबुटीहरु वन जङ्गल तथा खाली स्थानमा रोप्ने कार्यलाई अगाडि बढाउने बताइएको छ । छत्रकोट गाउँपालिकाभित्र कालोपत्रे भएका सडकहरुको दायाँबायाँ पहिरो रोक्ने खालका र आय–आर्जनसँग जोडिने खालका अम्रिसोलगायतका बोट बिरुवा रोप्ने कार्यलाई अगाडि बढाउँदै हरित सडकको अवधारण कार्यान्वयनमा जोड दिने उल्लेख गरिएको छ ।
गाउँपालिकाभित्र आइपर्ने विपद्का घटनाहरुमा उद्धार कार्यमा खटिने स्वयंसेवक व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिने, “हामीले तिरेको कर, हाम्रै विकासको भर” भन्ने जनभावना जागृत बनाई सबै नागरिकलाई कर तिर्ने बानीको विकास गर्न कर शिक्षा सञ्चालन गरिने अध्यक्ष पाण्डेले बताउनुभयो । व्यक्तिगत सम्पत्तिबाट व्यवसायिक प्रयोजनका लागि ढुङ्गा तथा अन्य खनिज पदार्थ बेचबिखन गर्दा अनिवार्य रोयल्टी तिर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुका साथै गाउँपालिकाभित्र ढुङ्ग, गिट्टी, बालुवा रोडालगायतका नदीजन्य पदार्थको रोयल्टी तिरेको रसिद साथमा नराखी ढुवानी गरेको पाइएमा जरिवाना गर्ने कार्यलाई पूर्ण कार्यान्वयन गरिने अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जुवा तास खेल्ने तथा लागू पदार्थ र मदिरा सेवन गरी सामाजिक तथा पारिवारिक सद्भावमा खलल पार्ने हल्ला गर्ने व्यक्तिहरुलाई मनोपरामर्श कर्ताद्वारा कुलतले परिवार र समाजका साथै स्वयम् व्यक्ति आफैँलाई पुर्याउन सक्ने असरका सम्बन्धमा सचेत गराउने व्यवस्था मिलाई कुलत त्याग्न उत्प्रेरित गरिनेछ। स्थानीय तहबाट सिर्जना हुने लाभ र अवसरहरुमा दलित तथा उत्पीडित समुदायका व्यक्तिहरुलाई प्राथमिकता दिइने उल्लेख छ । गाउँपालिकाका प्रत्येक वडामा कम्तीमा एक स्थानमा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरी ज्येष्ठ नागरिकहरुको मिलन हुने, अनुभव आदानप्रदान गर्ने तथा मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गर्नका लागि व्यवस्था मिलाइने उहाँले उल्लेख गर्नुभयो । एकल र असहाय जेष्ठ नागरिकका लागि गाउँपालिकाले स्वयंसेवकको परिचालन गरी हेरचाह, संरक्षण र पालन पोषणको व्यवस्था गर्नेछ ।
त्यस्तै, गाउँपालिकाभित्र मृत्यु भएको व्यक्तिको शव सद्गतिका लागि विदेश वा देशका अन्य स्थानबाट आफन्तहरु आइपुग्ने समयसम्मका लागि शवलाई सुरक्षित रुपले राख्ने व्यवस्था गर्न श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा शवगृह फ्रिजलगायतका आवश्यक पूर्वाधारको व्यवस्था मिलाउने बताउनुभयो । गाउँपालिकाले श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठनको लागि आवश्यक पहल गर्ने, विभिन्न तहगत रुपमा उत्कृष्ट तीन शिक्षकहरुलाई सम्मान गर्ने, एसइई परीक्षामा ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुालई एक लाख ५१ हजार, ३.९९ देखि ३.९० सम्मका लागि ५१ हजार र ३.८९ देखि ३.८० सम्म जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई २५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने उहाँले उल्लेख गर्नुभयो ।
“पुरानो पठनपाठन पद्धतिको साटो डिजिटल शिक्षा अबको बाटो” भन्ने नारालाई आत्मसात् गर्दै माध्यमिक विद्यालयतह ८, ९ र १० कक्षालाई पूर्णतः डिजिटल शिक्षण सिकाइको प्रबन्ध मिलाइने भएको छ । अध्यक्ष पाण्डेयले जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने कृषि उद्यमीहरुलाई जग्गा भाडा रुकममा अनुदान दिने कार्यक्रमलाई अगाडि बढाइनेलगायतका दर्जनौं नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँ सभाको २० औं अधिवेशनको दोस्रो बैठक असार १० गते बस्ने भएको छ ।