• ४ असार २०८२, बुधबार

एउटै वडामा १४ जना क्षयरोगी

blog

क्षयरोगको खोजपड्ताल शिविरमा परीक्षणका लागि आएकाहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ, असार ४ गते । स्याङ्जाको वालिङ नगरपालिका–५ मा एकै दिन १४ जना क्षयरोगका बिरामी फेला परेका छन् । वालिङ नगरपालिकाको स्वास्थ्य शाखाले प्रोटेबल एक्सरेको माध्यमबाट गरेको खोजपडातल शिविरमा १४ जना बिरामीको पहिचान भएको नगरपालिकाका क्षयरोग मुक्त अभियानका संयोजक मोनिका कोइरालाले जानकारी दिनुभयो । 

संयोजक कोइरालाका अनुसार शिविरमा आएका पाँच सय ८० जनाको परीक्षण गर्दा १४ जनामा क्षयरोग पहिचान भएको हो । रोग पहिचान भएका बिरामीहरुलाई निःशुल्क औषधी सेवनको व्यवस्था मिलाइएको कोइरालाले जानकारी दिनुभयो । 

क्षयरोग मुक्त अभियान चलाइरहेको नगरपालिकाले गाउँ तहमा नै पुगेर खोजपड्ताल अभियान चलाउँदै आएको छ । वालिङमा चालु आर्थिक वर्षमा ८५ जना नयाँ क्षयरोगका बिरामीको पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

प्रति लाख जनसङ्ख्यामा २४५ जना बिरामी पहिचान गर्नुपर्ने नीति अनुसार वालिङमा कम्तीमा ११८ जना बिरामी पहिचान गर्नुपर्ने अवस्था रहेको पाण्डेले बताउनुभयो । खोजपड्ताल बढाउँदै लैजाँदा बिरामीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । 

यसैगरी, स्याङ्जाका चार पालिका क्षयरोग मुक्त बनाउने अभियानमा चलाउँदै आएका छन् । जिल्लाका वालिङसहित भीरकोट, गल्याङ र पुतलीबजार नगरपालिकामा अभियान सञ्चालन भएको हो । 

क्षयरोगको उच्च जोखिममा रहेका पालिका र जनसङ्ख्यालाई आधार बनाएर अभियान सञ्चालन गरिएको हो । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष दश लाखमा १ भन्दा कम बिरामीको सङ्ख्या भएमा अन्त्य भएको मानिनेछ । सन् २०५० सम्ममा यो अवस्थामा पुर्‍याउने सरकारको योजना छ ।

क्षयरोग निवारणका लागि वालिङमा रोग पहिचान, समुदायमा जोखिम समूह पहिचान तथा स्क्रिनिङ्, रोग निदान, रोग रोकथाम र उपचार जस्ता क्रियाकलाप भइरहेको वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।