निराजन परियार
चौमाला (कैलाली), असार ४ गते । जिल्ला कारागार कैलालीका कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शवगृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् ।
सोमबार राति १०ः३० बजे कारागारमा अचेत अवस्थामा भेटिएको बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको कारागारले जनाएको छ ।
कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्युु भएको बताउनुभयो ।
सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ । पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।
मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्याउने बेला पालीलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिनाले बताउनुभयो ।
मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको पाइएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।
अहिले उहाँको शव प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपियाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उहाँलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।