रमेश पौडेल
पोखरा, असार ४ गते । पोखराको फेवाताल संरक्षण अभियान अन्तर्गत नागरिक समाजको अगुवाइमा फेवातालको पश्चिम–उत्तरमा रहेको सेती किनारबाट बृहत् सरसफाइ अभियान सुरु गरिएको छ ।
बर्सातको समयमा फेवातालको किनारमा जलकुम्भी, प्लास्टिकजन्य फोहोरलगायत विभिन्न नसड्ने वस्तुले फेवाताललाई प्रदूषित गर्ने भएकाले सो अभियान सुरु गरिएको वातावरणका संरक्षणका लागि ‘महाअभियान कास्की’ का संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फोहोर सङ्कलन गरी सो अभियानको शुभारम्भ गर्दै नागरिक समाजको यस अभियानमार्फत वातावरण संरक्षण हामी सबैका लागि भन्ने सन्देश प्रवाह हुने बताउनुभयो । फेवातालको संरक्षणका लागि गरिएको यस कार्यले पोखराको गौरव र गरिमा जोगाइराख्ने उहाँको भनाइ थियो ।
पोखरा महानगरपालिका, नेपाल प्रहरी, नागरिक समाज, पर्यटन व्यवसायीलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता रहेको सो अभियानमा सरिक फेवातालमा आश्रित जलारी समुदायका अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालको अस्तित्व जोगाउन फेवातालमै आश्रित जलारीले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नागरिक समाजका अभियन्ता दुर्गा शर्मा लम्सालले फेवातालको सरसफाइमा महिलाको सहभागिता प्रभावकारी रहेको बताउनुभयो ।
रामसार सूचीमा रहेको फेवातालको दीर्घ जीवनका लागि पछिल्लो समय नागरिक समाजले अतिक्रमण नियन्त्रण, जल व्यवस्थापन सुधार, ड्याम सुरक्षालगायतका सन्देशमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । फेवातालको संरक्षणका लागि नागरिक समाजले सरकार र नगरपालिकालाई ठोस नीति बनाउन दबाब दिने कामसमेत गर्दै आएको संयोजक पौडेलले बताउनुभयो ।
फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवा किनारबाट ६५ मिटरको मापदण्डलाई लागु गर्न पिल्लर गाड्ने काम जारी राखेको छ ।