तिलाचन पाण्डे
तम्घास(गुल्मी), असार ४ गते । गुल्मीमा वडाबाटै अनलाइन नागरिकता सिफारिस हुँदा सेवाग्राही र कर्मचारी दुवैलाई सहजता भएको छ । पहिले वडाले सिफारिस गरेको अनुसूची फारम बोकेर जिल्ला प्रशासन आउँदा कागजपत्र नपुगेर समस्या झेल्दै आएका सेवाग्राहीहरुले अव उक्त समस्या झेल्न नपर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार जिल्लाका दुई वटा नगर र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहका सबै वडाबाट अनलाइन नागरिकता सिफारिस हुने गरेको बताउनुभयो ।
अहिले सिसिआइएमएस (केन्द्रीय नागरिकता ब्यवस्थापन प्रर्णली)मा आधारित अनलाइन नागरिकता सिफारिस हुने गरेको उहाँले बताउनुभयो । नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने सबै कागजपत्रहरु स्क्यान गरेर सफट्वेयरमार्फत पठाउँदा विश्वासिलो हुनुका साथै दीर्घकालीनसमेत हुने गरेको गैरेले बताउनुभयो । जसका कारण सेवाग्राहीहरुलाई कागजपत्र पुगेन भनेर फिर्ता हुनुपर्ने झन्झट नहुनुका साथै कर्मचारीहरुले पनि सबै कागजपत्र स्क्यान गर्नुपर्ने झन्झटबाट मुक्त भएको उहाँले बताउनुभयो । केही अपुग भएमा वडाले सफटवेयरमार्फत नै अपडेट गर्न सक्ने भएकाले सेवाग्राही फिर्ता हुनुपर्ने छैन ।
पछिल्लो समयमा बढ्दो प्रविधिको उच्चत्तम प्रयोगका कारण सेवाग्राहीका साथै कर्मचारीहरुको पनि समय बचत हुनुका साथै सहज रुपमा सेवा प्रवाहमा थप टेवा पुग्ने उहाँले दाबी गर्नुभयो । यसले गर्दा कम कर्मचारीले पनि सहज रुपमा धेरै काम गर्न सक्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिले दैनिक ८० नागरिकता दिँदै आएकोमा अहिले १५० सम्म नागरिकता प्रदान गर्न सकिने अवस्थामा भएको गैरेले बताउनुभयो ।
सफटवेयरमार्फत अनलाइन सिफारिस हुँदा अन्य समयमा पनि आवश्यक पर्ने कागजपत्र सुरक्षित रहनुका साथै बिचमा कसैले बदमासी गर्न नसक्ने गैरेले बताउनुभयो । वडाले सिफारिस गरेको अनलाइन कोडमार्फत सबै स्क्यान डकुमेन्ट हुने हुँदा नागरिकता प्रिन्ट गर्नमा समय नलाग्ने नागरिकता फाँटकी खरिदार लक्ष्मी बम्रेलले बताउनुभयो । जसले गर्दा आफूहरुको पनि समय बचत हुने र सेवाग्राहीहरुले पनि छिटो छरितो रुपमा सेवा पाउन सक्ने उहाँले बताउनुभयो ।
पहिलेभन्दा अहिले नागरिकता प्राप्तिका लागि लामो समय लाइनमा बस्नुपर्ने अवस्था नरहेको सेवाग्राही अनिष पाण्डेले बताउनुभयो । अनलाइनबाट नागरिकता सिफारिस गर्दा आफूहरु पनि ढुक्क हुने गरेको चन्द्रकोट ८ तुराङका वडा सचिव लक्ष्मी अर्यालले बताउनुभयो । आफूहरुले गएको चैत महिनादेखि अनलाइन नागरिकता सिफारिस गर्दै आएको उहाँले बताउनुभयो ।
गत हप्ता ३९१ जनाले नयाँ नागरिकता बनाउँदा २२३ जनाले प्रतिलिपि बनाएका छन् । सोही समय अवधिमा नावलक परिचयपत्र २४, राहदानीका लागि आवेदन सङकलन तीन सय, राहदानी वितरण १४६, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७९२, परिचयपत्र वितरण ५७६ र २३ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।