मकवानपुर, असार ४ गते । मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर धार्मिक पर्यटक एवम् हाइकिङ रुचाउने पर्यटकको रोजाइमा पर्न थालेको हो । समुद्री सतहबाट एक हजार ८ सय ५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिमशृङ्खला पनि देख्न सकिन्छ ।
सामाजिक सञ्जालमार्फत चर्चा बटुलिरहेको लटारम्मेश्वर क्षेत्र डब्लुडाँडा नामले समेत चिनिन्छ । पौराणिक मान्यताअनुसार सतीदेवीको जटा पतन भएको स्थानका रूपमा लटारम्मेश्वरलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । भीमफेदी गाउँपालिका र बागमती प्रदेश सरकारको सहयोगमा लटारम्मेश्वर क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्न गुरुयोजना बनाइएको बताइएको छ ।
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा खानेपानी, विश्रामस्थल र पदमार्ग स्तरोन्नतिलगायतका पूर्वाधार विस्तारको कार्य तीव्र गतिमा अघि बढिरहेको पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताउनुभयोभयो । उहाँले पर्यटकको सहजताका लागि पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
स्थानीयवासीका अनुसार पछिल्लो समय लटारम्मेश्वर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि भएको छ । मन्दिर दर्शन गर्न आउने पयर्टकका कारण व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव परेको स्थानीय विजय भोलोनले बताउनुभयो ।
प्राकृतिक सुन्दरताले भरिएको उक्त मन्दिरमा पुग्दा अलौकिक अनुभूति हुने गरेको पर्यटक सुनीता मानन्धरको अनुभव छ ।
भौगोलिक अवस्थिति र धार्मिक महत्त्वका कारण लटारम्मेश्वरलाई पर्यटकीय हबको रुपमा विकास गरिनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।