• २३ वैशाख २०८१, आइतबार

शिवम् सिमेन्ट प्रकरणः वडाध्यक्षको संयोजकत्वमा समस्या पहिचान गर्न समिति गठन

blog

शिवम् सिमेन्ट उद्योगबाट उत्पन्न समस्याबारे छलफल गर्न हेटौँडा उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १४ गते ।
हेटौँडा उपमहानगरपालिका १६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीयको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकामा बिहीबार बसेको सर्वपक्षीय बैठकले आन्दोलतरत स्थानीयको समस्याको पहिचान गरी सुझाव दिन हेटौँडा उपमहानगरपालिका १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरेको हो । सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लास्टिकजन्य पदार्थ जलाएको र लामो समयदेखि धुलोका कारण समस्यमा परेको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका थिए ।

सर्वपक्षीय बैठकले जनताको गुनासाहरुको समाधान गर्ने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै अनुगमनका लागि समिति गठन गरिएको हो । समितिलाई स्थानीयको समस्याको पहिचान र समाधानका लागि सुझावसहितको प्रतिवेदन एक साताभित्र तयार गर्ने गरी जिम्मेवारी दिइएको छ ।

उद्योगको नियमित अनुमन गर्ने गरी गठित १८ सदस्यीय समितिको सहसंयोजकमा वडा नं. १७ का वडाध्यक्ष उद्धब सत्याल र सदस्य सचिवमा हेटौँडा उपमहानगरपालिकाका वातावरण इन्जिनियर चन्दा खड्का रहनु भएको छ ।

उद्योगले सिमेन्ट उत्पादनका क्रममा चुन ढुङ्गाबाट निस्कने धुलो र सञ्चालनका क्रममा आउँने ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने र उद्योग परिसरमा विभिन्न स्थानबाट सङ्कलित प्लास्टिक जलाए नलाएको निरीक्षण गर्दै सुधारका लागि उद्योगलाई सुझावसहित निर्देशन दिन नियमित अनुगमनका लागि समिति बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।

बैठकमा स्थानीयले विगत १९ वर्षदेखि उद्योगले फैलाएको प्रदूषणका कारण स्थानीयमा श्वासप्रश्वासको समस्या देखिएको बताउँदै पटक/पटक उद्योग सञ्चालकसँग बैठक बस्दै सम्झौता गरेपनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम र पहल नगरेको बताएका थिए ।

बैठकमा हेटौँडा उपमहानगरका नगरप्रमुख मीनाकुमारी लामाले उद्योग सञ्चालकलाई समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह गर्दै उद्योगलाई जिम्मेवार बनाउने काममा स्थानीयको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले स्थानीय बासिन्दा बराबर स्थानीय सरकारका लागि कोही नहुने भन्दै अनुगमन समितिको काममा सहयोगी बन्नसमेत नगरप्रमुख लामाले उद्योगलाई सुझाउनुभएको छ ।

बैठकमा नगर उपप्रमुख राजेश बानियाँले स्थानीय बासिन्दालाई दुःख दिँदा उद्योगका समस्था थपिने भएकोले सचेतता अपनाउन आग्रह गर्नुभयो ।

नगर प्रमुख लामाको अध्यक्षतामा भएको बैठकमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख ज्ञानप्रसाद भुर्तेल, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, नेपाल उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रिप्रसाद शर्मा, शिवम् सिमेन्ट प्रभावित क्षेत्रका टोलविकास सस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।