• २० असार २०८२, शुक्रबार

बाल सुधारगृहमा अङ्ग्रेजी भाषा

blog

खजुरा समाचारदाता

खजुरा, असार २० गते ।   एडभोकेसी फोरम नेपालले नौबस्ता बाल सुधारगृहसँगको सहकार्यमा विगत दुई महिनादेखि सञ्चालन गर्दै आएको तीनमहिने अङ्ग्रेजी भाषा सिकाइ कक्षा प्रभावकारी एवं उपयोगी भएको भाषा सिक्दै गरेका कानुनी विवादमा परेका बालकले बताएका छन् । 

उक्त सुधारगृहमा रहेका कानुनी विवादमा परेका ४० जना बालकका लागि आयोजित तीनमहिने अङ्ग्रेजी भाषा सिकाइ कक्षाको अनुगमन मूल्याङ्कनका लागि सोमबार त्यहाँ पुग्नुभएका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र आयोजक संस्था एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमसँगको कुराकानीका क्रममा भाषा सिक्दै गरेका बालकले अङ्ग्रेजी भाषामै आफ्ना भनाइ राख्दै भाषा सिकाइ एकदमै उपयोगी भएको बताएका थिए ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले अङ्ग्रेजी भाषा कक्षाले बालकको शैक्षिकस्तर अभिवृद्धिमा मद्दत पुग्ने बताउँदै सिकेका कुरा व्यवहारमा उतार्ने गरी तालिमको भरपुर उपभोग गर्न बालकलाई आग्रह गर्नुभयो । जीवनमा सिक्ने कुरा धेरै भएको र जीवन जिउन धेरै समय बाँकी रहेको भन्दै प्रजिअ जोशीले बालकले सधैँ लगनशीलताका साथ सिकाइलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । 

अधिवक्ता गौतमले बालकको मागबमोजिम उनीहरूको पढ्न पाउने भाषा, ज्ञान सिप सिक्न पाउने अधिकारको सम्मान गर्दै शैक्षिकस्तरमा अभिवृद्धि गरी असल नागरिक बनाउन र थुनामुक्त भएपछि समाजमा पुनस्र्थापनामा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ अङ्ग्रेजी कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।