काठमाडाैं, असार २० गते । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डङ्गोलले बाजा नेपालको सङ्गीत र लयका सारथी मात्रै नभई जनताका आवाजहरु पनि रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा अमूर्त सम्पदा संरक्षण तथा प्रवर्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा परम्परागत टोल, गुथी, खलःहरुलाई आर्थिक अनुदान सहयोग गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका मूर्त र अमूर्त सम्पदाहरु रहेको बताउनुभयो । मूर्त सम्पदाहरु शरीर जस्तै भएको बताउँदै मूर्त सम्पदाको सास, आत्मालाई अमूर्त सम्पदाले जीवित बनाउने बताउनुभयो । अमूर्त सम्पदाको महत्वपूर्ण पाटो भनेको संगीत भएको बताउनु भयो ।
उपप्रमुख डंगोलले भन्नुभयो, "हरेक टोल, समुदाय, कुच, गुठीहरुमा फरक फरक खालका सम्पदाहरु छन् । मूर्त र अमूर्त सम्पदाहरु छन् । मूर्त सम्पदाहरु हाम्रा शरीर जस्तै हुन् । मूर्त सम्पदाको सास, आत्मा जीवित अमूर्त सम्पदाले बनाउँछ । अमूर्त सम्पदाको निकै नै महत्वपूर्ण पाटो भनेको हाम्रो सङ्गीत हो । सामाजिक, सांस्कृतिक, धार्मिक कार्यमा किन नहोस्, कुनै राजनीतिक अभियानमा नै किन नहोस् । विशेष गरी काठमाडौं महानगरपालिकाभित्र रहेको नेवार समुदायहरुको बाजाहरुको त्यत्तिकै नै महत्वपूर्ण छ । बाजाहरु संगीत र लय मात्रै होइनन्, हाम्रा आवाजहरु पनि हुन् । बाजाहरु बजुन्जेलसम्म नेवार समुदायको सबैको आवाज रही रहन्छ ।"
उपप्रमुख डङ्गोलले पुस्तौंदेखिका सीप र ज्ञानहरु पुस्तान्तरण गर्दै संस्कृतिहरुको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । परम्परागत टोल, गुठी, खलहरुले आफ्नो समुदायको पहिचान गर्न मद्दत गरिरहेको बताउनु भयो । पर्व, बाजा, जात्राहरुमा आफ्नो पहिचान रहेको बताउनुभयो ।