प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), असार २० गते । रौतहटको राजदेवी नगरपालिका– ७ का गौरी महतोले १० वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आउनुभएको छ । फागुनदेखि कात्तिक महिना गरी नौ महिना उहाँले उखुको जुस बेच्ने गर्नुहुन्छ ।
उखुको रस बेचेर मासिक ४५ हजारसम्म आम्दानी हुने गरेको महतो बताउनुहुन्छ । बढिरहेको चर्को गर्मी छल्न उखुको जुसको बिक्री अन्य समयभन्दा बढि नै हुने गर्दछ ।
उखुको जुस बेच्ने व्यापार सुरु गर्नु अघि महतो भारतका विभिन्न शहरमा काम गर्ने गर्नु हुन्थ्यो ।
त्यहाँ काम गर्दा घर परिवारबाट टाढा बस्नु पर्ने, आम्दानी पनि खासै नहुने र सधैँ अरुकै फाइदाको लागि आफ्नो परिश्रम जाने भएका कारण घर फर्केर गौरमा उखुको जुस बनाएर बेच्ने व्यापार सुरु गरेको महतोले बताउनुभयो ।
उखुको जुस सानो ग्लासको ३० र ठुलो ग्लासको ४० रुपियाँमा बिक्री हुने गरेको महतो बताउनुहुन्छ । उहाँले गौरसँगै राजपुर, लौकाहा, बंकुल लगायतका ठाउँमा उखुको जुस बेच्न जाने गरेको सुनाउनुभयो ।
उखुको जुस बेचेर तीन जना छोराछोरी पढाउनुका साथै एघार जनाको परिवारको घरखर्च पुगेको बताउनुहुँदै महतोले अहिले आएर भाइ र छोराले समेत यहि व्यवसाय सुरु गरेको बताउनुभयो । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा आफ्नै गाउँ ठाउँमा सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त लागेको महतोको भनाइ छ ।
जुस बनाउनको लागि घर नजिकै ब्रह्मपुरीमा करिब एक बिघा उखु वर्षेनी किनेर राख्ने गरेको बताउनुहुँदै महतोले गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुने भएकाले उखुको जुस प्रति आकर्षण बढि रहेको बताउनुभयो ।