रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), असार २० गते । गुल्मी सत्यवती गाउँपालिका–५ का अर्जुन भण्डारीलाई करिब आधा घण्टा हिँडेर सत्यवती माध्यमिक विद्यालय पुग्नु पथ्र्यो । दैनिक बिहान ४:३० बजे भैँसीका लागि घाँस काटेर समयमै विद्यालय पुग्न सकिँदैनथ्यो । अर्जुनलाई अतिरिक्त कक्षा सञ्चालन भएपछि समय व्यवस्थापन झनै चुनौतीपूर्ण बन्यो । कहिलेकाहीँ त घाँसकै लागि कक्षाबाट आधा घण्टा छिटो निस्किनु पथ्र्यो ।
दमको रोगी बुवा २०८० फागुनमा बित्नुभयो । उहाँलाई बिरामी आमासँगै घरव्यवहार र पढाइले च्याप्दै गयो । उहाँले भन्नुभयो, “म परिस्थितिबाट भागिनँ बरु डटेर सामना गरेँ । राति ११ बजे सुतेर बिहान ३ बजे उठेर पनि पढ्थेँ ।” अवसर हुँदा पनि लागुऔषधमा जीवन बर्बाद गरेका कैयौँ छोराछोरी छन् तर अर्जुनको दैनिक घरगोठको काम र पढाइ पनि उत्कृष्ट थियो ।
अर्जुन भण्डारी कक्षामा कहिले दोस्रो हुनुभएन । नियमित लगाव र परिश्रमले भर्खरैको एसइईमा चार जिपिए प्राप्त अर्जुनको चौतर्फी प्रशंसा भएको छ । अर्जुन भण्डारीले अवसर पाए डाक्टर बन्ने चाहना भएको बताउनुभयो । घरपरिवार र विद्यालयसँग कहाँ पढ्ने भन्ने विषयमा छलफल भइरहेकाले निर्णय हुनेबित्तिकै भैँसी बेचेर सहर जाने अर्जुनको भनाइ छ । उहाँले आफू हिँडेपछि अब घरमा घाँस काटेर भैँसी पाल्न आमाले नसक्ने भएकाले बिव्रmी गर्न थालेको बताउनुभयो ।
उदय मावि चन्द्रकोट–४ का विद्यार्थी निसान भण्डारीले पनि चार जिपिए प्राप्त गर्नुभएको छ । भण्डारीले १५ वर्षदेखि परदेश पस्नुभएका बुवा नेत्र भण्डारीको सपना पूरा गर्नु नै आफ्नो उद्देश्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा अझै कति परदेश बस्ने ? आइटीतर्फ राम्रो गरेर बुवालाई घरमै बस्ने वातावरण बनाउने छु ।” घरपरिवारसँगै हुर्किएका निसानले पनि घरको सबै काम गर्नु पथ्र्यो । निसानका काका पुरन भण्डारीले बाध्यता नै नभए पनि स्वभाव नै कामकाजी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुवा परदेश, म पनि बाहिर हुन्थेँ, आमा र सानी बहिनीसँग घरमा भएकाले निसान घरव्यवहारसँगै हुर्कियो । दबाब पढाइ र काम दुवैमा थिएन, सबै काम स्वस्फूर्त गथ्र्यो ।”
चार जिपिए ल्याउने सत्यवती माविकै सिर्जित भण्डारीले कम्प्युटर इन्जिनियर बन्ने सपना रहेको बताउनुभयो । बुवा भीमलाल भण्डारी सत्यवती माविकै शिक्षक हुनुहुन्छ । सिर्जितले दिदी सुजना भण्डारी पनि मेडिकल अधिकृत भएकाले आफूलाई पनि पारिवारिक प्रेरणा रहेको बताउनुभयो । सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरू तरामुले अर्जुन भण्डारी जस्ता गाउँमा जन्मिएर अभाव र बाध्यताबिच उत्कृष्ट नतिजा ल्याउनेको सपना आर्थिक अभावले मर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सानैबाट घाँस काटेर लामो दुरी हिँडेर पनि चार जिपिए ल्याउने अर्जुन उदाहरणीय पात्र हुन् ।