• २० असार २०८२, शुक्रबार

प्रधानाध्याकको निधनमा राक्सिराङका शैक्षिक संस्थामा शोक बिदा

blog

मोटरसाइकल दुर्घटनामा परी निधन भएका कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झा ।

राममणि दाहाल
मकवानपुर, असार २० गते ।
मकवानपुरका राक्सिराङ गाउँपालिका–९ अठारेस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको निधनमा गाउँपालिका कार्यालयले पालिकाभित्रका शैक्षिक संस्थामा शोक बिदा दिएको छ ।

गाउँपालिकाको अध्यक्षस्तर निर्णयबाट शुक्रबार एक दिन गाउँपालिकाअन्तर्गतका सम्पूर्ण शिक्षण संस्थाहरुमा शोक बिदा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतद्वारा जारी सूचनामा भनिएको छ । धनुषा जनकपुर–४ का झाको बिहीबार राति मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका–१० राप्तीरोडस्थित सडक खण्डमा बुद्धचोकबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार राति ११ः२० बजे दुर्घटनामा परी घाइते भएका ४५ वर्षीय झाको हेटौँडा अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

यसैबिच, गाउँपालिका कार्यालयले प्रधानाध्यापक झाको निधनले गाउँपालिका परिवार मर्माहत भएको जनाएको छ । गाउँपालिकाले शुक्रबार एक शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त र परिवार एवम् आफन्तजनामा समवेदना प्रकट गरेको छ ।

प्रधानाध्यापक झा उक्त विद्यालयमा लामो समयदेखि अध्यापनरत रहनुभएको राक्सिराङ राङगाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।