• १८ वैशाख २०८१, मङ्गलबार

वाइडबडी खरिदमा अनियमितता, पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

blog

काठमाडौँ, चैत २३ गते । नेपाल वायु सेवा निगमको विमान खरिद गर्दा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा एक पूर्वमन्त्री, दुई जना नेपाल सरकारका पूर्वसचिव तथा एक जना बहालवाला सहसचिवसमेत २४ जना नेपाली र आठ जना विदेशी नागरिकसमेत छन् । 

प्रचलित कानुनविपरीत विमान खरिद गरेको र राज्यलाई ठुलो रकम नोक्सानी पुर्‍याएर विमान आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा ठुलो रकम व्यक्तिगत लाभ लिएको आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । 

आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीसहित थुप्रै उच्च पदस्थ अधिकारीलाई प्रतिवादी बनाएको छ । विमान आपूर्तिकर्ता तथा विक्रेता कम्पनीसँगको मिलेमतोमा पूर्वमन्त्री शाहीसमेतको संलग्नतामा राज्यकोषमा एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपियाँ नोक्सानी पु¥याएको आयोगले दाबी गरेको छ । 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका शाही हाल नेपाली कांग्रेसका तर्फबाट हुम्लाबाट प्रदेश सभा सदस्यसमेत हुनुहुन्छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै उहाँ प्रदेश सभा सदस्यबाट स्वतः निलम्बनमा पर्नुभएको छ । सार्वजनिक खरिदसम्बन्धी ऐन नियमलाई बेवास्ता गरेर अगाडि बढाइएको विमान खरिद प्रक्रियालाई शाहीले विभागीय मन्त्रीको हैसियतमा सच्याउन निर्देशन दिनुपर्नेमा प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरेको आयोगको आरोप छ । 


आयोगले विमान खरिद गर्ने समयमा नेपाल वायु सेवा निगमको कार्यकारी भूमिकामा रहनुभएका तत्कालीन महाप्रबन्धक तथा सञ्चालक समितिका सदस्य सुगतरत्न कंसाकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव तथा नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष शङ्करप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल वायु सेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं नेपाल वायु सेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । उहाँहरूमध्ये कंसाकार, अधिकारी र ढुङ्गाना अहिले सार्वजनिक पदमा हुनुहुन्न । लामिछाने भने सचिवमा बढुवाको वरीयतामा हुनुहुन्छ । 

आयोगले सोही प्रकरणमा नेपाल वायु सेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं निगमका तत्कालीन सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला र नेपाल वायु सेवा निगमका तत्कालीन सञ्चालक समिति सदस्य भई हाल नेपाल नागरिक उड्डयन प्राधिकरणका सञ्चालक समिति सदस्य अच्युतराज पहाडीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।  

त्यस्तै नेपाल वायु सेवा निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाईं, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभाशकुमार कर्माचार्यविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । नेपाल वायुसेवा निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामुनिर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन सुवास रिजाल, नेपाल वायुसेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रवीन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक तथा हाल निर्देशक उपेन्द्र पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ । 

निगमकै तत्कालीन उपनिर्देशक तथा हाल निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हाल निर्देशक उमेश पौडेल र तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक बृहतमान तुलाधरविरुद्ध पनि मुद्दा दायर भएको छ । 

विमान आपूर्तिकर्ता कम्पनीमध्येको इन्टरनेसनल सप्लाई चेन एएआर कर्प इन्क, युएसएका पे्रसिडेन्ट एवं बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाई एक्सका निर्देशक एवं जर्मन एभिएसन क्यापिटल जर्मन र सिङ्गापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्चियन न्हुलेन र जर्मन एभिएसन क्यापिटल जर्मनका फाइनान्स निर्देशक ओलेग कलिस्टु«विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । एएआर इनटरनेसनल इन्क युएसए र उक्त कम्पनीका मुख्य व्यक्ति जोन एम होल्म, जर्मन एभिएसन क्यापिटल जिएमबिएम जर्मनी र उक्त कम्पनीका मुख्य व्यक्ति अना टोपा, हाई फ्लाई ट्रान्सपोर्ट पोर्चुगलका मुख्य व्यक्ति पउलो मिरपुरी, हाई फ्लाई एक्स आयरल्यान्ड र उक्त कम्पनीका मुख्य व्यक्ति गेराल्ड थर्नटर्न, नर्टन रोज फुलब्राइट जर्मनी र उक्त कम्पनीका मार्कस रडब्रुच र सोही कम्पनीका वरिष्ठ परामर्शदाता रलफ स्प्रिङ्गरविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । 

मुद्दा दायर गरिएकामध्ये ३२ जनालाई जनही एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । आफ्नो व्यापार बढाउने भन्दै निगमले दुई वटा वाइडबडी विमान खरिद गरेको थियो तर विमान गरिद गर्ने क्रममा विमान उत्पादक कम्पनीसँग सिधै खरिद नगरी एजेन्टमार्फत किनेको, विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत प्रक्रिया अपनाएर अनियमितता गरेकोलगायत दाबी आयोगले गरेको छ ।