• २४ वैशाख २०८१, सोमबार

अपाङ्गता भएकालाई सामग्री सहयोग

blog

भावना जोशी 

अत्तरिया, वैशाख १४ गते । धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई   निःशुल्क सहायता सामग्री वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको २ सय ९० जना  अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण गर्न लागेको हो ।  

गत वर्ष उपमहानगरले एकसय ८९ जनालाई सो सहायता सामग्री वितरण गरेको थियो । नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको नगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । 

उपमहानगरले १९ वटै वडालाई समेट्ने गरी पाँच ठाउँमा स्क्रिनिङ शिविर राखेको थियो । सो शिविरमा नापजाँच गरी अपाङ्गता सामग्री आवश्यक रहेको  पहिचान गरिएको थियो । स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिलाई असार १५ भित्र सहायता सामग्री वितरण गरिसक्ने नगरपालिकाका महिला विकास अधिकृत पंकजा जोशीले बताउनुभयो । 

उहाँले गत वर्ष अपाङ्गता भएका व्यक्तिलाई ३२ लाख बराबरको २०५ किसिमका सहायता सामग्री निःशुल्क वितरण गरिएको जानकारी दिनुभयो । यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएको भए पनि धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको हो । 

यो वर्ष  ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई सहायता सामग्री प्रदान गर्ने जनाएको छ । अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति तथा कार्यक्रम रहेको बताइएको छ ।