काठमाडौँ, असार २५ गते । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा लेभल वान कोचिङ कोर्स बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासङ्घ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका दुई गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक सङ्घका महासचिव कुबेरप्रकाश सिंहले जानकारी दिनुभयो । महासचिव कुबेरकाअनुसार सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी हुनुहुन्छ ।
यस्तै भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिनुभएको छ । कोर्स आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्नुहुनेछ ।
असार २९ गतेसम्म सञ्चालन हुने कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।