• २६ वैशाख २०८१, बुधबार

महिला उम्मेदवारका मुद्दा : भौतिक विकासभन्दा सामाजिक सुशासनमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते  । महिला उम्मेदवारले स्थानीय तहको निर्वाचनको मुद्दामा  भौतिक विकासलाई भन्दा सामाजिक सुशासनको विषयमा जोड दिएका छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र  टोखा नगरपालिकाका विभिन्न क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका महिला उम्मेदवारले  सामाजिक सुशासनका विषयलाई बढी प्राथमिकता दिएका हुन् । 

सङ्कल्प, शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल र महिला गैरसरकारी संस्था महासङ्घद्वारा सोमबार राजधानीमा आयोजित ‘महिला जिताऔँ अभियान’ कार्यक्रममा महिला उम्मेदवारले  आ–आफ्नो प्रतिबद्धता जनाउने क्रममा सामाजिक व्यवस्था सुदृढीकरणमा आफूहरू लाग्ने बताएका हुन् । 

महिला उम्मेदवारले विकास भनेको भौतिक विकासलाई मात्र मान्ने प्रचलनले समाजमा हाल सामाजिक विचलन आइरहेको भन्दै ओझेलमा परेको सामाजिक विषयलाई सुशासनको पाटोसँग जोड्दै विकास, राजनीति, आर्थिक सबलीकरणलाई दिगो बनाउन आफूहरूले ध्यान दिने बताए । 

कार्यक्रममा काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी घोषणा गर्नुभएकी सिर्जना सिंहले ‘सिर्जनाका सङ्कल्प’ लिएर मतदातासमक्ष घरदैलोमा पुगिरहेको बताउनुभएको छ । उहाँले आफूले  विद्यार्थी  जीवनदेखि नै राजनीतिक यात्रा नछाडेको, पदमा नबसी सामाजिक सेवामा खटिरहेकोमा अब भने देश विकासमा राजनीतिक बाटोबाट प्रत्यक्ष सहभागी हुुन उम्मेदवारी दिएको  जिकिर गर्नुभयो । 

उहाँले महानगरवासीको अहिलेको आवश्यकतालाई प्राथमिकतामा राखेर महिलालाई उद्यमशीलतासँग जोड्दै, महिलाले बनाएका उत्पादन बिक्रीका लागि हरेक वडामा ‘कोसेली घर’ बनाउने, युवालाई स्वाबलम्बी बनाउने, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण गरेर काठमाडौँलाई पर्यटकीय नगरमा परिणत गराउने आफ्नो योजना रहेको बताउनुभयो ।त्यसैगरी, फोहोरको दिगो व्यवस्थापन, महिला, ज्येष्ठ नागरिकलगायत सबै पेसा व्यवसाय गर्ने नागरिकका लागि सुरक्षित सहर बनाउने, सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा जोड दिने उहाँले दाबी गर्नुुभयो । 

टोखा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिनुभएकी नेपाली काँग्रेसकी रजनी थापाले पनि त्यस क्षेत्रका स्थानीयको जीवनस्तर उकास्न महिलाको आर्थिक सशक्तीकरणकै पाटोलाई सबल बनाउने लक्ष्य राख्नुभएको छ ।  उद्यमशील बन्न तालिम, उत्पे्ररणा र बजारको व्यवस्थापन गर्ने बताउनुभयो । 

उहाँले हिंसामा परेका महिलाको कानुनमा पहुँच पुगेको छैन, आफ्नो अधिकारबारे नै अनभिज्ञ वर्गका महिला, युवालाई यसबारे जागरुक बनाउनेदेखि स्थानीयलाई सुविधा पुग्ने सबै कार्यक्रममा जोड दिने बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकै प्रमुख पदकी विवेकशील साझाकी उम्मेदवार समीक्षा बाँस्कोटाले फोहोरमैला व्यवस्थापन, सम्पदा संरक्षण, ढुङ्गेधारा, पोखरीको संवद्र्धनका साथै महिला, बालबालिका, युवालगायत सहरका नदीनालासमेतको सफाइमा नीतिगत पहल गर्ने बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका विवेकशील साझाका  उम्मेदवार  कीर्ति तुलाधरले न्यायिक पाटोलगायत उपप्रमुखको कार्यक्षेत्रमा पर्ने सबै जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताउनुभयो ।  सो अवसरमा महिला अधिकारकर्मी तुलसालता अमात्यले देशभरबाटै महिला जिताऔँ अभियानका लागि महिला गैरसरकारी संस्था महासङ्घमा आबद्ध महिला संस्था र समावेशी महिला सञ्जाललगायतले विशेष पहल गरिरहेको बताउनुभयो । उहाँले महिला उम्मेदवारलाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक र सीमान्तकृत वर्गको मुद्दाबारे पनि जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।