• ६ जेठ २०८१, आइतबार

चट्याङ र करेन्ट लागेर दुईको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, बैशाख २५ गते । झापाको अर्जुनधारा नगरपालिका २ खुदुनाबरीमा  मंगलवार हावाहुरी पानीसहित आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

झापा  अर्जुनधारा नगरपालिका २ चौरासे बस्ने ५४ बर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरनजिक मकैबारीमा मल लगाउँदै गर्दा आज ४ बजेर ५० मिनेट जाँदा गड्याङगुडुङसँंगै परेको चट्याङ उहाँमाथि परेको थियो । दुलाललाई चट्याङ लागेपछि बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उपचारको क्रममा साँझ ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

झापाका केही स्थानमा आज लामो समयपछि मध्यम बर्षा भएको छ । बर्षासँगै केही स्थानमा चट्याङसमेत परेको छ । 

यता, झापाको शिवसताक्षीमा करेन्ट लागेर १८ महिने बालकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो । सोमबार दिउँसो खेल्नेक्रममा पानी तान्ने मोटर छुँदा करेन्ट लागेर उनको ज्यान गएको प्रहरीको भनाइ छ ।  

बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि लग्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता चन्दले जानकारी दिनुभयो ।