• ६ जेठ २०८१, आइतबार

१३ लाख १५ हजार रुपियाँसहित एक पक्राउ

blog

स्रोत नखुलेको रुपियाँसहित पक्राउ परेका युवक ।

दिपकप्रसाद गौतम

वीरगञ्ज, वैशाख २५ गते । पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रुपियाँसहित एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १४ गण्डकचोकस्थित सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको सो रकमसहित युवकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुरका २८ वर्षीेय रविकुमार पटेल रहेको जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेललाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदैगरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा सवार पटेलको साथबाट स्रोत नखुलेको उक्त रुपियाँ बरामद भएको उहाँले जानकारी दिनुभयो । 

खानको तलासी गर्दा १००० दरका नेपाली नोट ८८९ थान (८ लाख ८९ हजार), ५०० दरका नेपाली नोट ८५० थान (४ लाख २५ हजार) र १०० दरका नेपालीे नोट १० थान (१ हजार) गरी १३ लाख १५ हजार रुपियाँ र विभिन्न बैंकका खाली चेकहरु ७ थान फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका पटेलमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।