• १३ मंसिर २०८१, बिहिबार

आमाको मुख हेर्ने दिनमा आमाको आँखामा आँसु

blog

वेदव्यास ज्येष्ठ नागरिक आश्रमका आमासँग आमाको मुख हेर्ने पर्व मनाउनेहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख २६ गते । आमालाई सम्मान गर्ने, माया–ममता दर्साउने तथा स्मरण गर्ने मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा समेत छोराछोरी भेट्न नआउँदा आश्रममा रहेका आमाका आँखामा आँसु आएको छ ।  

सन्तानको माया नपाएर आश्रममा बस्न बाध्य आमा आज सन्तान भेट्न आउँछन् कि भनेर बाटो हेरेर बसे पनि नआएपछि दुःखी भएका हुन् । 

व्यास नगरपालिका–५ चापाघाट स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रित ७० वर्षीया विमला भट्टराईका आँखाभर आँसु थियो । पर्वले खुसी नदिई पीडा दिने गरेको उहाँले बताउनुभयो । 

बुधबार परेको  औँसीका अवसरमा छोरा र छोरी भेट्न आउँछन् कि भनेर बाटो हेरेको र नआउँदा पीडा भएको उहाँले बताउनुभयो । 

भट्टराईले भन्नुभयो, ‘मैले छोराछोरीलाई दिनहुँ सम्झिएको छु तर उनीहरूले सम्झिएनन् ।’ भेट नभएको धेरै वर्ष भएकाले याद आइरहेको उहाँ बताउनुहुन्छ ।  

छोरो गाउँमै र छोरी भारतमा काम गरेर बस्ने गरेको उहाँले जानकारी दिनुभयो ।  छोरो र छोरी  आउँछन् कि भन्ने आशामा भट्टराई बाटोतिर हेर्दै बस्नु भएको थियो । चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो मनको इच्छा पूरा हुने उहाँले  बताउनुभयो । चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने भट्टराई बताउनुहुन्छ ।

व्यास नगरपालिका–६ साँगे सिरुवारीकी उमेरले ७० काटिसक्नु भएकी ठुली परियार आफ्ना छोराछोरी नभएको तर दिदीबिहीका छोराछोरीले नसम्झिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘आजको दिन मनका कुरा भन्ने, मिठो खाने, छोराछोरीले दिएको लुगाफाटो लगाउने इच्छा छ नि तर के गर्नु भाग्यले  जुराएको रहेनछ ।’

श्रीमान् बितेपछि बूढीलाई हामी पाल्न सक्दैनौँ भनेर देवर तथा जेठाजुका छोराछोरीले भनेपछि आश्रममा आएको परियार बताउनुहुन्छ। 

आफ्नो सन्तान नहुँदा दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने परियाले बताउनुभयो । परियारले भन्नुभयो, ‘आफ्नो कोख बाँझै रह्यो मातातीर्थ औँसी मेरा लागि कहिल्यै आउँदैन, सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ मेरो त झन् कोही छैन ।’ 

आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले चाडपर्व बेलामा समेत सन्तानले नसम्झिँदा उनीहरूको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताउनुभयो । हामीले उहाँलाई सन्तानको अभाव महसुस नहोस् भन्नको लागि चाडपर्वको बेलासँगै बसेर खाने, खुवाउने, कुरा गर्ने गरेको उहाँले बताउनुभयो ।  

आलेले भन्नुभयो, ‘पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि आमाले छोराछोरीको सम्झनामा मुख निन्याउरो पानुहुन्छ, आँखाबाट आँसु झार्नुहुन्छ ।’ 

कतिपयको सन्तान भएर पनि बेवास्ता गरेको र कतिपयका आफ्ना सन्तान नभएकोले आश्रममा आएको आश्रमले जनाएको छ ।

आमाको मुख हेर्ने दिन सन्तान भेट्न नआउँदा उहाँहरू दुखी भएको आश्रमकी सचिव निर्मला मल्लले बताउनुभयो । मल्लले भन्नुभयो, ‘सन्तान भएकाहरू घरबाट आमाको मुख हेर्न आउँछन् कि भन्ने ठुलो आशामा रहेका हुन्छन् । कोही नआएपछि उनीहरू निराश हुने गरेका छन् ।’ 

आश्रमकी सहसचिव सरूँ श्रेष्ठले आश्रित आमालाई न्यास्रोपन मेटाउनको लागि बिहान आएर उहाँसँग बसेर मातातीर्थ औँसी मनाएको बताउनुभयो । चावपर्वको समयमा पहिला उहाँलाई समय छुट्टाएर पछि घर तथा परिवारलाई समय दिने गरेको उहाँले बताउनुभयो । 

बुधबार अधिकांश आमा गुमाउनेले आएर मिठा खानेकुरा खुवाएर मातातिर्थ औँसी मनाएको आश्रमले जनाएको छ । आश्रमका अनुसार वि.सं. २०७० साल वैशाख १ गतेदेखि आश्रम सञ्चालन ल्याइएको हो । हालसम्म २० जनाले सेवा पाउनु भएको छ भने दश जनाको निधन भइसकेको छ । हाल चार जना आमा आश्रित छन् । जन्मदिन, वैवाहिक वर्षगाँठ, पितृकार्य लगायतमा आश्रमलाई दाताले सहयोग गर्दै आएका छन् ।

महिलाले मिलेर आश्रम सञ्चालन गर्नुभएको हो । आश्रमका ३३५ जना महिला आबद्ध हुनुहुन्छ । ‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’, भन्ने नाराका साथ सुरुमा मुठीदानबाट महिला मिलेर आश्रम सञ्चालन गरिएको सचिव मल्लले जानकारी दिनुभयो । 

व्यास नगरपालिका–३ दमौली निवासी दीपक रानाले आमा निधन भएकोले आमाको न्यास्रो लागेर आश्रमका आमालाई फलफूल लिएर भेट्न आएको बताउनुभयो । बुधबार आमाका मुख हेर्नेदिन आश्रमका आमालाई भेट्नेको भीड लागेको थियो ।