काठमाडौँ, असार २३ गते । काठमाडौँ महानगरपालिकाले सामुदायिक कुकुरको व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार काठमाडौँ महानगरको एक मात्र फोहोर ट्रान्सफर स्टेसन टेकु अवस्थित परिसरमा उल्लेख्य सङ्ख्यामा कुकुरहरू जम्मा भएका छन् ।
उहाँका अनुसार कुकुर पालन तथा व्यवस्थापन गरिरहेका व्यक्ति, विभिन्न सङ्घ, संस्था र अभियान्तालाई सो अनुरोध गरिएको हो । सो क्षेत्रमा सामुदायिक कुकुरहरू बढी भएको कारणले एक अर्कालाई आक्रोश देखाउने गरेका छन् । यस कारण उक्त क्षेत्रमा असहज परिस्थिति समेत सिर्जना भएको उहाँको भनाइ छ ।
उहाँले यस विषयमा असार २० गते सम्बद्ध सरोकारवालासँग भएको छलफलमा कुकुरहरूको सहजतापूर्वक बाँच्ने हक सुरक्षित गर्न आवश्यक रहेको विषयमा छलफल भएको जानकारी दिनुभयो ।
सो छलफल बमोजिम सामुदायिक कुकुर व्यवस्थापनमा उपयुक्त हुने भनिएको सम्बद्ध सबैको सहभागीताका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।