• १३ मंसिर २०८१, बिहिबार

गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन ३० गते । गुल्मीमा १६ सयभन्दा बढीलाई निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अनुसार लालपुर्जाको लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार ६३० परिवारलाई निस्सा वितरण गरिएको हो ।

जसमा मुसिकोट नगरपालिकाका २८०, कालिगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ । रुरुक्षेत्रका २३०, छत्रकोटका १४३, गुल्मीदरबारका ३३, धुर्कोटका ३४८, इस्माका २२३, मालिकाका २४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन । निस्सा वितरणको लागि सम्बन्धित पालिकाले विभिन्न निणर्य गर्नुपर्नेमा रेसुङ्गाले उक्त निणर्य नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राम मल्ल ठकुरीले बताउनुभयो ।

निस्सा वितरणमा ढिलाइ हुँदा लालपुर्जा वितरणमा समेत ढिलाइ हुने ठकुरीले बताउनुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले हालसम्म जिल्ला स्तरीय पत्रकार सम्मेलन, राजनीतिक दलहरुसँग सर्वदलिय बैठक, विभिन्न अभिमुखीकरण कार्यक्रमलगायतका कार्यक्रम गरेको बताइएको छ ।

रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्य समेत सम्पन्न भएको छ । आयोगले विभिन्न मापदण्डको आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ । गुल्मीमा कुल दुई हजार ५९९ लाभग्राही छन् । तर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमा दोहोरो सुविधा लिन नपाइने बताइएको छ ।