• १७ असार २०८२, मङ्गलबार

किवीमय बन्दै भार्से र सिरकोट

blog

सत्यवती गाउँपालिका–८ भार्सेको व्यावसायीक किवी खेती । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, असार १७ गते ।
सत्यवति गाउँपालिका–८ भार्सेका ५६ वर्षीय यमबहादुर थापाले १५० बोट किवी रोप्नुभएको छ । उहाँले अन्नबाट भन्दा बढी आम्दानी हुने भएपछि नर्सरीसहितको किवी खेती विस्तार गर्नुभएको छ । साढे दुई सयदेखि तीन सय रुपियाँमा घरबाटै किवी बुटवल पुग्छ । हेवार्डसँगै रेड किवीका बिरुवा नर्सरीमा छन् ।

 किवीबाट थापाले वर्षमा १०/१५ लाख गर्नुभएको छ । भार्सेकै ठुलोपोखरी कृषि समूहले सामूहिक रुपमा १० वर्षदेखि किवी उत्पादन सुरु गरेको छ । भार्से गाउँमा कम्तीमा १० बोट किवी अधिकांश घरले रोपेका छन् ।

सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भुसालले उच्च भूभागमा किवी, टिमुर, एभोकाडो, तेजपात र बेसी क्षेत्रमा आँप, लिचीमा सहयोग गरेको बताउनुभयो । उहाँले भार्सेमा छ समूह, १५ व्यावसायिक फर्म, पाँच हजार छ सय बोटमध्ये चार हजार छ सय बोटबाट उत्पादन भएको भुसालले जानकारी दिनुभयो । भार्सेबाट मात्रै वार्षिक १८४ मेट्रिकटन किवी उत्पादन हुँदै आएको र वडा नम्बर ३ र ५ मा किवी खेती विस्तार थालिएको भुसालले बताउनुभयो ।  

त्यस्तै, कालीगण्डकी गाउँपालिका–१ सिरकोटको किबी खेती पनि निकै लोभलाग्दो छ । खुलखुले डाँडोमा स्थानीय १८ जना किसानहरुले सामूहिक किवी खेती गरिरहनुभएको छ । किवी खेतीको विकास र गाउँले कृषकहरुको उर्जामा तीनै तहका सरकारको सहयोग छ । सिँचाइ विकास डिभिजन कार्यालयबाट पोखरी, कृषि ज्ञान केन्द्र गुल्मीले पनि पोखरी र कृषि विकास निर्देशनालयबाट किवीका लागि पिल्लर निर्माण भएका छन् भने कालीगण्डकी गाउँपालिकाबाट दुई हजार पाँच सय किवीका बिरुवा अनुदानमा उपलब्ध गराइएको छ ।

सिरकोट किवी खेती पोखरी जल पुनर्भरण योजनामार्फत ६५ हजार लिटर पानी अटाउने क्षमता भएका दुई पोखरी निर्माण गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलका प्रमुख इन्जिनियर भरत सापकोटाले जानकारी दिनुभयो । वर्षातमा आकाशे पानी सङ्कलन गरेर खडेरीको बेला पोखरीबाट सिँचाइ हुने व्यवस्था मिलाइएको छ । लामो समय राम्रो उत्पादन हुने र बजार तथा मूल्य राम्रो भएकाले परम्परागत खेती छोडेर सिरकोटका किसान किबी खेतीमा आकर्षित भएका छन् ।

सिरकोटका १८ परिवारले २५० रोपनी क्षेत्रफलमा छ हजार चार सय किवीका बोट लगाएका छन् । स्थानीय अगुवा कृषक लक्ष्मीपति न्यौपानेले लामो समयदेखि एक हजार चार सय किवी र एक हजार चार सय सुन्तलाका बोट लगाउनुभएको छ । सोही गाउँमा गगन तरामुले नौ सय र चन्द्रकला पाण्डेले आठ सय किवीका बोट रोप्नुभएको छ । उहाँले सिँचाइ सुविधासहित अहिलेसम्म राज्यका सबै निकायबाट आफूहरुलाई आवश्यकता अनुसारका सबै सहयोग प्राप्त भएकाले उत्साहित बनाएको बताउनुभयो ।

कालीगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले किसानलाई बिरुवा र मल तथा खाल्डा निर्माणमा सहयोगसँगै बजारका लागि सहजीकरण गरिरहेको बताउनुभयो । सिरकोट गाउँपालिकाकै कृषिका लागि नमुना स्थल भएकाले आवश्यक सबै सहयोगको लागि गाउँपालिका सकारात्मक भएको दर्लामीले बताउनुभयो ।