रामेछाप समाचारदाता
रामेछाप, फागुन २९ गते । रामेछापमा एक लाख ३६ हजार भेडाबाख्रालाई पिपिआर रोग अर्थात् भेडाबाख्राको हैजाविरुद्धको खोप लगाइएको छ । जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ देखि २२ सम्म साताव्यापी खोप अभियान सञ्चालन गरेको पशु सेवा कार्यालय सिन्धुलीका पशु चिकित्सक नवराज थापाले बताउनुभयो ।
उहाँका अनुसार मन्थली र रामेछाप नगरपालिकामा २५/२५ हजार भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप लगाइएको छ । त्यसै गरी खाँडादेवी गाउँपालिकामा १४ हजार, लिखु तामाकोशी गाउँपालिकामा १५ हजार र उमाकुण्ड गाउँपालिकामा १५ हजार भेडाबाख्रालाई खोप लगाइएको छ । सुनापति गाउँपालिकामा १५ हजार, दोरम्बा शैलुङ गाउँपालिकामा १२ हजार र गोकुलगङ्गा गाउँपालिकामा १५ हजार भेडाबाख्रामा पिपिआर रोगविरुद्धको खोप लगाइएको छ । पिपिआर खोप सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
पशु चिकित्सक थापाले भन्नुभयो, “पिपिआर भेडाबाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग पुरानो ठाउँमा देखापर्दा मृत्युदर कम भए पनि नयाँ ठाउँमा फैलिँदा धेरै क्षति हुन्छ । त्यसैले भेडाबाख्रामा पिपिआर खोप लगाउन आवश्यक छ । यो रोगको खास उपचार नभएको हुँदा सबैभन्दा प्रभावकारी भनेकै सामूहिक खोप लगाएर रोग नियन्त्रण गर्नु हो ।”