काठमाडौं, फागुन २५ गते। मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। महिला अधिकार तथा जागरुकतासम्बन्धी विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ।
वैज्ञानिक एवम् आधुनिक युगमा आजका महिला हिजोका दिनमा झैं कुनै एक निश्चित घेराभित्र मात्र सीमित छैनन्। घरायसी कामसँगै पेशागत जिम्मेवारी, समाज र राष्ट्र हाँक्ने क्षमता राख्न सक्ने सक्षम बनेका छन्।
नेपालजस्तो विकासोन्मुख देशमा मात्र नभइ, विश्वका समुन्नत एवम् शक्तिशाली राष्ट्रमा समेत लैङ्गिक विभेदविरुद्ध महिला आन्दोलनले ठुलो मूल्य चुकाएको इतिहास छ।
नेपालको संविधानमा राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ। तर महिलाको अर्थपूर्ण सहभागिता अझ कार्यान्वयन नभएर बिडम्बनापूर्ण स्थिति छ।
प्रतिनिधिमूलक रुपमा हेर्दा, नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला सभामुख ओनसरी घर्ती, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका महिला नेतृत्वको काम, कौशलबाट प्रमाणित भएको छ । सरकारदेखि संसद र न्यायपालिकाको नेतृत्वदायी भूमिकामा नेपाली महिला अब्बल बनेका छन्। सञ्चार तथा सूचना प्रविधि रेखा शर्मा सरकारको प्रवक्तासमेत हुनुहुन्छ ।
बाहिर सुनिए, भनिएजस्तो महिला कति आत्मनिर्भर छन् त ? यस विषयमा हामीले समाजका केही यथार्थलाई नजिकबाट नियाल्ने कोसिस गर्यौं।
काठमाडौंको गोगंबुमा अवस्थित चेतना महिला माध्यमिक विद्यालयमा विवाहित छोरी, बुहारीदेखि ज्येष्ठ उमेरका आमा पढ्न विद्यालय जानुहुन्छ, प्रधानाध्यापक हुनुहुन्छ – कृष्णदेवी श्रेष्ठ।
छरछिमेकका दिदीबहिनीले अक्षर चिन्ने रहर गरेपछि पढ्नलाई उमेरले छेक्दैन भनेर उहाँले महिलाका लागि वैकल्पिक विद्यालय खोल्नुभयो। पछिल्लो समय यो विद्यालयबाट एसईई उत्तीर्ण गर्नुभएकी ७० वर्षीया सूर्यवती खनाल निकै उत्साहित हुनुहुन्छ।
सात वर्षको उमेरमा सडक दुर्घटनाबाट अपाङ्गता हुनुभएकी प्रतिमा गुरुङ अपाङ्गता तथा मानव अधिकारका सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा वकालत गर्नुहुन्छ। उहाँ महिलाका लागि स्थापित पद्म कन्या बहुमुखी क्याम्पसमा करिब २० वर्षदेखि उपप्रध्यापन गर्दै आउनुभएको छ।
हिंसा नगरौं, हिंसा नसहौं भन्ने उद्देश्यले राष्ट्रिय महिला आयोगजस्ता अधिकारवादी संस्थाले पीडितका पक्षमा सहजीकरण गर्ने गरेको छ। तथापि, आयोगजस्ता संस्थाको भूमिका थप प्रभावकारी बन्नु आवश्यक छ।
श्रीमान् हृदयघातका कारण थला परेपछि ४७ वर्षीया सरस्वती महर्जन आय–आर्जनका लागि राइडर बन्नुभयो। औपचारिक शिक्षा हासिल नगर्नुभएकी सरस्वती आफ्नो सीप र जाँगरमा श्रीमानको स्वास्थ्य उपचारदेखि घरखर्च धान्नुहुन्छ।
दुई पाङ्ग्रे र साना सवारी मात्र होइन, ठुला बस हाँक्ने महिला पनि उत्तिकै हुनुहुन्छ। ललितपुरस्थित साझा यातायातका एक मात्र महिला चालक हर्मिता श्रेष्ठ उपत्यकाको व्यस्त सडकमा बस हाँक्नुहुन्छ।
यसरी, सवारीदेखि संसद र सरकार हाँक्ने आत्मविश्वास महिलामा बढेकोे छ। यद्यपि, संविधानले सुनिश्चित गरेको महिला अधिकार अक्षरसः पालनाका लागि सम्बन्धित सबै पक्षबाट पहल भए मात्र सम्भव हुन्छ। महिला दिवसको अवसरमा गोरखापत्र अनलाइनका लागि केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्रीः