• १८ वैशाख २०८१, मङ्गलबार

अफ्रिकी मुलुक जानेले लगाउनैपर्ने खोप ‘एल्लो फिभर’

blog

काठमाडौं, चैत २६  गते । सरकारले अफ्रिकी मुलुकमा जाने मानिसलाई लक्षित गर्दै एल्लो फिभरविरुद्धको खोप प्रदान गर्दैआएको छ । खोप जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एल्लो फिभरविरुद्धको खोप लगाउन सकिन्छ ।  

अस्पतालमा विभिन्न कारणले अफ्रिकी मुलुकमा जाने मानिसलाई लक्षित गर्दै यो खोप लगाउने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । अस्पतालका अनुसार दैनिक चार-पाँच जना  खोप लगाउन आउने गर्दछन् ।  

 अस्पतालका अनुसार दैनिक चार-पाँच जना  खोप लगाउन आउने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनले ४२ भन्दा बढी देशलाई एल्लो फिभरको जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ । जसमध्ये २० अफ्रिकी र एक अमेरिकीसहित हाल २१ वटा देशले अन्तर्राष्ट्रिय यात्रुलाई एल्लो फिभरको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेका छन् । शान्ति सेनामा जानुभन्दा अगाडि नेपाली सेना पनि यो विरुद्धको खोप अनिवार्य लगाउनु पर्छ ।  

कस्तो रोग हो ?

अस्पतालका सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार एल्लो फिभर भाइरसजन्य रोग हो, जुन सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । चिकित्सकका अनुसार यो रोगलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेको यो विरुद्ध खोप लगाउनु हो । यो रोग सामान्यतया अफ्रिकी मुलुकमा बढी देखिने गर्छ । डा. पुन भन्नुहुन्छ, “यो रोग विशेषगरी, अफ्रिकी मुलुकमा देखिने गर्छ । एसियाली देशहमा पनि केही वर्ष अगाडि पुष्टि भएको थियो  

लामखुट्टेले टोकेको तीनदेखि सात दिनभित्र यसका लक्षणहरु देखा पर्ने डा. पुन बताउनुहुन्छ । उहाँका अनुसार यो रोगले सामान्यदेखि जटिल प्रकारका लक्षण देखाउने गर्छ । 

लामखुट्टेले टोकेको तीनदेखि सात दिनभित्र यसका लक्षणहरु देखा पर्ने डा. पुन बताउनुहुन्छ ।

डा. पुनका अनुसार पहिलो चरणमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वाकवाक लाग्नेजस्ता समान्य लक्षण देखा पर्दछन् । यस्ता लक्षणहरु सामान्यतया तीनदेखि चार दिनमा आफैं निको भएर जाने डा. पुन बताउनुहुन्छ । 

समान्य लक्षण निको भएको २४ घण्टामा पुन: जटिलखालका दोस्रो चरणका लक्षण देखाउने चिकित्सक बताउछन् । दोस्रो चरणका लक्षणमा मिर्गौला र कलेजोलाई असर गर्ने डा. पुनले जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, “दोस्रो चरणमा कलेजोमा असर गर्ने भएकाले शरीरका सबै भाग पहेंलो हुन्छ । त्यसलै यो रोगलाई एल्लो फिभर भन्ने गरिन्छ ।” दोस्रो चरणमा पिसाव कालो हुने, पेट दुख्ने, वान्ता हुने, नाक, मुख, पिसाबबाट रक्तस्राव हुनेजस्ता लक्षण देखिन्छन् ।  दोस्रो चरणको लक्षण देखिएको एक हप्तादेखि १० दिनमा आधा जति बिरामीको मृत्यु हुने डा. पुनको भनाइ छ । 

दोस्रो चरणको लक्षण देखिएको एक हप्तादेखि १० दिनमा आधा जति बिरामीको मृत्यु हुने डा. पुनको भनाइ छ । 

 उहाँ भन्नुहुन्छ, “यो रोगको दोस्रो लक्षण देखिनु घातक मानिन्छ । दोस्रो चरणको लक्षण देखाएको एक हप्तादेखि १० दिनभित्र अत्यधिक रक्तश्राव भई बिरामीको मृत्युहुन्छ ।” 

 यो रोगको अहिलेसम्म कुनै पनि उपचारविधि पत्ता लागेको छैन । चिकित्सकका अनुसार लक्षणका आधारमा रोगको उपचार गरिन्छ । यो रोगबाट बच्ने एकमात्र उपाय भनेको यो रोगविरुद्ध खोप लगाउनु नै हो । यो खोप एक पटक लगाएपछि १० वर्षसम्म लगाउनुपर्दैन । 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।