• ५ वैशाख २०८१, बुधबार

उपत्यकाका धार्मिक सर्किट

blog

विश्वका दुई ठुला जनसङ्ख्या र क्षेत्रफल भएका देश चीन र भारतको बिचमा नेपाल छ । नेपाल विश्व शान्तिका अग्रनायक बुद्ध जन्मेको लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथाको देश पनि हो । यहाँ जातीय विविधता, १२३ भन्दा बढी भाषा र प्राकृतिक, वैदिक, बौद्ध, बोन, मस्टो, किरात, जैन, सिख, बहाई, मुस्लिम, ख्रिस्टियनलगायत धर्मको साझा फूलबारी हो । 

काठमाडौँ उपत्यका अर्थात् नेपाल मण्डलमा गोपाली, किराती, सोम, लिच्छवि, मल्ल, शाह, राणासम्म आउँदा नेपाललाई विभिन्न कालखण्डमा सोही अनुसारले विकसित पारिएको छ । यस्तै काठमाडौँ उपत्यकाभित्र सात वटा विश्व सम्पदा रहेका छन् । स्वयम्भू महाचैत्य, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायणसहित हनुमानढोका दरबार, पाटन दरबार र भक्तपुर दरबारले नेपालको महिमा गान गाएका छन् । 

विश्व सम्पदामा सूचीकृत हुनु भनेको सो बेलाको वैभवताको प्रतीक हो । काठमाडौँ उपत्यकाको स्वर्णकालको प्रतिविम्बन हो । सो बेलामा काठमाडौँ चार भञ्ज्याङभित्र रहेको साँगा, फर्पिङ, भीमढुङ्गा, विशङ्खुभित्र बस्ने जुनसुकै जाति, धर्म, नस्ललाई नेवार वा नेवाःका रूपमा चिनिन्थ्यो । उक्त समय सामाजिक रूपमा उपत्यका आएका जो कोही पनि नेवार वा नेवाः हुन सक्थ्यो । जुन समयमा नेवाः कहलिएका थिए, आजसम्म पनि ती नेवारका रूपमा परिचित छन् । त्यही भएर होला; पूर्व टिस्टा, पश्चिम काँगडा, उत्तर कुटीयाङ्दी, दक्षिण गङ्गा सागरसम्म फैलिएका कला तथा संस्कृतिहरू उपत्यकामा देख्न सकिन्छ । अहिले आएर पर्यटन उद्योगमा सांस्कृतिक सम्पदाहरूको देखाइने अमूल्य सम्पदा नै नेपालको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोत बनेको छ ।

समग्र नेपालको आम्दानीको स्रोत जलस्रोत, कृषि र पर्यटन हो । सङ्घीय राजधानी काठमाडौँसँगै जनसङ्ख्याको जनघनत्व वृद्धिसँगै कृषि र जलस्रोतको सम्भावना न्यून भएकाले यी विश्व सम्पदालाई नै आयस्रोतको साधन बनाउनुपर्ने देखिन्छ । त्यसैले यी पाँच वटा सम्पदाको अलावा अन्य पर्यटन नगरीलाई पनि काठमाडौँ र आसपासका जिल्लालाई एकीकृत र केन्द्रीकृत गरेर पर्यटनको गुरुयोजना निर्माण गर्न जरुरी छ । 

स्वयम्भू महाचैत्य (एक हजार ४१० मिटर) मा रहेको यस चैत्य विश्व सम्पदामा सूचीकृत हुनु जायज छ नै, यसका साथै बौद्ध धर्मसँग अन्तरसम्बन्धित अन्य धार्मिक पर्यटनका क्षेत्रहरूलाई पनि उत्तिकै महìव दिँदा आय आर्जनमा टेवा पुग्न सक्छ । उपत्यकाभित्रका पाँच वटा चुचुरोलाई समेटेर बौद्ध सर्किट बनाउनु उत्तम हुन सक्छ । चार दिशामा रहेका यी पर्यटन नगरी चन्द्रागिरि–चम्पादेवी, फुल्चोकी–वज्रयोगिनी, नगरकोट–जरसिंपौवा, शिवपुरी–ककनी र जामाचो–दहचोकलाई एकीकृत र केन्द्रीकृत रूपमा सर्किटमा समावेश गरेर पर्यटन उद्योगमा अर्काे नयाँ आयाम थप्न सकिन्छ ।

चन्द्रागिरि–चम्पादेवी पर्यटन क्षेत्र 

चम्पादेवी (सात हजार ९५० फिट) मा बुद्ध स्तूपा र चैत्यलाङ मार्ग (चित्लाङ) छ । केबुलकारसहित भालेश्वर महादेव, टिस्टा काँगडा पार्कले यसको शोभा बढाएको छ । मकवानपुर जिल्लाको चित्लाङ वज्रवाराही, टिस्टुङ, पालुङ हुँदै राजधानीभित्र पर्ने नागढुङ्गा, छैमले, वाडभञ्ज्याङ, मच्छेगाउँ, मच्छेनारायण, चम्पादेवी, बौद्ध चैत्य, ऐतिहासिक कीर्तिपुरको शिवरत देवरतसहितको बाघभैरव, चिलंचो, चोभारको आदिनाथ, टौदह, मञ्जुश्री पार्क र फर्पिङको दक्षिणकाली, वज्रयोगिनी सम्पदा स्थलहरू यसमा समाहित छन् ।

फुल्चोकी–लाँकुरी भञ्ज्याङ पर्यटन क्षेत्र

नौ हजार ७३ फिट अग्लो स्थानमा रहेको गोदावरी डाँडा विश्व भूबुद्ध र फुचोमाजु (मञ्जुश्री) ले ध्यान गरी सिद्ध भएको पीठ मानिन्छ । बुङ्गमतीको बुङ्गद्यो, खोकनाको सिकाली महालक्ष्मी, कार्यविनायक, दल्चोकी, नल्लुको पाथीभरा, टीकाभैरव, लेले सरस्वती कुण्ड र चम्पकेश्वर महादेव, शङ्खु घ्याङ्ग गुम्बा, रानीकोटगढी, पञ्चलिङ्ग, घ्याम्पेडाँडा, पाटी भञ्ज्याङ जस्ता सम्पदा स्थलहरू यसभित्र समेटिएका छन् । 

नगरकोट–जरसिंपौवा पर्यटन क्षेत्र

नगरकोट (पाँच हजार ९३३ फिट) : मञ्जुश्री र उहाँकी पत्नी सरस्वती तिब्बतको ल्हासा प्रस्थान गर्दा बसेको स्थान मानिन्छ । मणिचुड दह (सात हजार २०० फिट) ः बोधिसत्व मणिचुड महाराज (भगवान् गौतम बुद्धको पूर्वावतार) ले वज्रयोगिनीको आदिभूमि साँखुवासीलाई रोगबाट बचाउन आफ्नो शिरको मणि मस्तक काटेर दान गरेको स्थल मानिएको छ । यस क्षेत्रमा साँगा भगवती, विश्वकै सबैभन्दा विशाल शिव मूर्ति, नालाको सृष्टिकान्ता लोकेश्वर र भगवतीसहित काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको प्रसिद्ध चण्डेश्वरी भगवती, पर्यटकीय नगरी, धुलिखेल, पनौतीको ईन्द्रेश्वर महादेव र राजकुमार महासत्वको दरबार, नमोबुद्ध, जरसिंपौवा, लप्सीफेदी र सिन्धुपाल्चोकको मेलम्चीसम्म पर्दछन् ।

शिवपुरी–ककनी पर्यटन क्षेत्र

शिफुचोः बुढानीलकण्ठ (शिवपुरी आठ हजार ९६२ फिट) : क्रकुच्छन्द बुद्धले स्थानीयवासीलाई बुद्धधर्ममा दीक्षित गराएको पवित्र स्थल मानिन्छ । तारेभिर, सुन्दरीजल, शिवपुरी राष्ट्रिय निकुञ्ज, गोकर्ण उत्तरगया, महादेव, झोर महाकाँल, चाकुको राजधानी टोखा चण्डेश्वरी र उत्तरकाली भाख्यो, तारकेश्वर महादेव, पाँचमाने जितपुर चैत्य, मनमैँजु अजिमाँ स्थल, धर्मस्थली, गोलढुङ्गास्थित ओशो रजनिश ध्यानकेन्द्र, ककनी पिकनिक स्थलसम्म पर्दछ । 

जामाचो–दहचोक पर्यटन क्षेत्र

जामाचो (नागार्जुन छ हजार ३३० फिट) : बोधिसत्व नागार्जुनले वज्रयान ध्यानलाई प्रवर्धन गराएको पवित्र स्थल हो । जहाँ बालाजु पार्क, पुरानो गुह्येश्वरी, ईचङ्गु नारायण, स्वयम्भू, भीमढुङ्गा, रामकोट, बलम्बु, दहचोक इन्द्रस्थानदेखि स्विजरल्यान्ड पार्कसम्म यस क्षेत्रमा पर्छ ।  शाक्त, शैव, बौद्ध संस्कारसँग रहेका मठमन्दिर, चैत्य र गुम्बा वरपरबाट निस्केका बागमती र विष्णुमतीलगायत १३ पवित्र नदीले ३६० वर्गकिलोमिटरको क्षेत्रफल रहेको उपत्यकाबाट ६३० किलोमिटर पार गरी कीर्तिपुर नगरपालिका–६ स्थित चोभारबाट बाहिरिन्छ । ती नदी किनारमा विकसित बस्ती वरपर मञ्जुश्री अष्टमातृका पीठ स्थापना भएका छन् । विगतमा राजाले लगाउने श्रीपेचमा मञ्जुश्रीकै खड्ग हुनु र विजयादशमीमा राष्ट्रप्रमुख अष्टमातृका स्थल पुग्नु, जीवित देवी कुमारीको हातबाट टीका थाप्नु र असंलग्न परराष्ट्र नीतिदेखि शान्ति क्षेत्रको प्रस्तावसम्म पञ्चशीलका आधारमा विश्वसँग सम्बन्ध राख्ने नीतिका कारण शाक्त, शैव, बौद्ध धर्मको संयोजन यही भूमिबाट बीजारोपित हो भन्ने प्रशस्त आधार रहेका छन् । 

हिन्दुका लागि नेपाल र भारतसहित रामायण सर्किट र बौद्ध धर्मावलम्बीको नेपाल र भारतसहित बौद्ध सर्किटका रूपमा पर्यटन प्रवर्धन भइरहेका छन् । त्यसैले मानव इतिहासमा अति नै स्वर्ण युगमा रहेको उपत्यकामा छरिएर रहेका र पुजिएका ती धार्मिक क्षेत्रलाई पर्यटनसँग एकाकार गरेर जानु आजको आवश्यकता हो । 

धार्मिक पर्यटनसँगै त्यहाँ रहेका प्राकृतिक छटाहरू, सुन्दर र शान्त राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनको पनि अनुपम दृश्यवलोकन गर्न सकिन्छ । ती क्षेत्रबाट देखिने आठ हजारमाथिका हिमचुचुरोको आनन्द छुट्टै हुन्छ नै, स्थानीय खाना, जात्रा, संस्कृति, मेलापात, जनजीवनले पनि नेपालीपनको पर्यटनको आभास गराउनेमा कुनै शङ्का छैन । त्यसैले सरोकारवाला पक्षले यो अवस्थामा यस नयाँ पर्यटन नगरीका रूपमा रहेको नेपाल मण्डल पर्यटन नगरीलाई सोही अनुसार सूचीकृत गरी नयाँ गन्तव्यका रूपमा स्थापित हुनु जरुरी छ ।    

Author

पदम श्रेष्ठ