आजको पुस्ता घुमफिर औधी रुचाउँछ । स्वास्थ्यका दृष्टिले होस् वा घुमफिरमा रमाउन होस्, ट्रेकिङ जानुका फाइदैफाइदा छन् । सहरको व्यस्त जीवनशैलीबाट वाक्क दैनिकीबाट केही दिन रिफ्रेस हुनका लागि ट्रेकिङ जाने, रमाउने, घुम्नेको सङ्ख्या दिनानुदिन वृद्वि हुँदै गइरहेको छ । पछिल्लो समय तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाच्छा जोड्ने ट्रेकिङ रुट पर्यटकका लागि आकर्षणको गन्तव्य बन्ने गरेको छ । यो पदमार्ग २०५६ सालदेखि सञ्चालनमा आएको र पदमार्गको पहिलो नक्साङ्कन २०६४÷६५ सालतिर गरिएको थियो । ७२ किलोमिटर दुरीको यो रुटलाई नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) भनिन्छ । अहिले यो पदयात्राको दुरीलाई बढाएर अहिले ९२ किमी बनाइएको छ । २०७२ सालको महाभूकम्प, कोरोना महामारीलगायतका विविध कारणले सुस्ताएको यो पदयात्रामा स्वदेश तथा विदेशी पर्यटकको आवागमन बढ्दो व्रmममा रहेको छ । भूकम्प, कोरोना महामारीलगायतका कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो ।
पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुराताìिवक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा र थुम्काथुम्कीको संरक्षणमा थप जुट्नुपर्ने देखिन्छ । पदमार्ग क्षेत्रमा मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं. ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा नं. १२ स्थित घडेरीमा होमस्टे सञ्चालनमा रहेका छन् । त्यसै गरी स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा नं. ११ स्थित राईपुर, वडा नं. १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा होमस्टे सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्न कुनै असुविधा नहुने व्यवस्थाका लागि मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउनुहुन्छ । पदमार्गमा आधिकारिक रूपमा दर्ता भएर सञ्चालनमा आएका १७ वटा होमस्टे रहेका छन् । कतिपय होमस्टे दर्ताबिनै चलिरहेका छन् ।
विगत ३५ वर्षदेखि ट्रेकिङ गाइड पेसामा आबद्व तनहुँका राजकुमार श्रेष्ठले मिलेनियम ट्रेक पर्यटकका लागि उत्कृष्ट पदयात्रा रहेको, पछिल्लो समय पर्यटकका लागि लोकप्रियसमेत तर प्रचारप्रसार हुन नसकेको बताउनुहुन्छ । श्रेष्ठका अनुसार पदयात्रीका लागि लोकप्रिय रहेको अन्नपूर्ण पदमार्गलगायतका अन्य पदमार्गमा नदेखिने पर्यटक लोभ्याउने विविध कुराले यो पदमार्ग अझ आकर्षण छ । यो पदमार्गमा फरक फरक संस्कृतिका कारणले आकर्षण बढेको उहाँको भनाइ छ । छ रात सात दिनको पदमार्गको यात्रालाई छोट्याउने हो भने स्याङ्जाको पुतलीबजार पनि झर्न सकिन्छ । रामबाच्छा ननिस्केर पुतलीबजार निस्कनेले पाँच दिनको यात्रा तय गर्नुपर्ने हुन्छ ।
यस पदमार्गमा आन्तरिकभन्दा विदेशी पर्यटकको मोह बढ्दो छ । समितिका सचिव गुरुङका अनुसार यो पदमार्गमा युरोपियन देशमा पर्यटक धेरै आउने गरेका छन् । अघिल्लो वर्ष यस पदमार्गमा आएका करिब तीन सय विदेशी पर्यटकमध्ये अधिकांश युरोपका थिए । पदयात्रामा निस्कने पर्यटकले सबै प्रकारका संस्कृतिको अवलोकन गर्न पाउनु पनि यस पदयात्राको महìवपूर्ण पक्ष हो । यस पदयात्रामा ब्राह्मण, क्षेत्री, भुजेल र मगर जातजाति अनुसारका संस्कृतिमा रम्न पाइन्छ । यहाँबाट देखिने मनोरम हिमाली तथा पहाडी दृश्यका साथै पदमार्ग क्षेत्रमा ऐतिहासिक एवं धार्मिक सम्पदालाई विश्व पर्यटन बजारमा पु-याउन सक्ने हो भने यस क्षेत्रमा पर्यटकको आवागमन थप बढ्ने छ ।
पदयात्राका आकर्षण
पदमार्ग अन्तर्गतका अधिकांश स्थानबाट धवलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो । विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त मात्रामा यो पदमार्गमा देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका गिद्धलगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महìवपूर्ण रहेको छ । पदमार्ग अन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जङ्गल पर्ने भएकाले वन, वन्यजन्तु, चराचुरुङ्गी अवलोकनका लागि पनि यो क्षेत्र आकर्षकको गन्तव्य बनेको छ ।
पछिल्लो समयमा पदमार्ग क्षेत्रमा वन र वन्यजन्तुको अवलोकन, अध्ययन अनुसन्धानका लागि पनि अध्येतासमेत अवलोकनका लागि आउने गरेका छन् । वन्यजन्तु अनुसन्धान तालिमका व्रmममा यस स्थानमा १७४ प्रजातिका चरा, ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् । दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरवाराही मन्दिरबाट अघि बढ्ने यस पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्माको ऐतिहासिक कोल्माकोटको अवलोकन गर्दै भैँसेगौँडा पुग्न सकिन्छ । भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भन्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङ्जाको रामबाच्छा पुगी पदयात्रा सम्पन्न हुन्छ । पदयात्रासँगै यहाँबाट उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौँदीखोला, वरपरको हरियाली पहाड हुँदै पारितर्फ भरतपोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुँडीकोट आदिका मनोरम भूभागले यहाँ आउने पर्यटकको मन जित्ने गरेको छ । प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा जोगाइएका प्राचीन मौलिक संस्कृतिले पनि यहाँको आकर्षण थपेको छ । पदयात्रासँगै यस क्षेत्रमा अवलोकन गर्न सकिने झन्डै तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित यहाँका गढी, शक्तिपीठ, देउतीबज्यैको थान, भिरकोट कालिका, यहाँस्थित किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि १,७०९ मिटर उचाइको ऐतिहासिक स्थल बुढाकोटलगायतका स्थानले पदमार्गको महìव अझ बढाएका छन् ।
पदयात्राको रुट
पहिलो दिन ः पोखरा–रजस्थल (१,२४० मिटर)
दोस्रो दिन ः रजस्थल–घडेरी÷साँधीखोला (९९० मिटर)
तेस्रो दिन ः घडेरी–पोखरीछाप÷कोल्मा (१,४४० मिटर)
चौथो दिन ः कोल्मा–भैँसेगौँडा÷चन्द्रकोट (१,५६० मिटर)
पाँचाैँ दिन ः चन्द्रकोट–बुढाकोट (१,७१० मिटर)
छैटौँ दिन: बुढाकोट–सुन्तलाबारी होमस्टे (१,३०० मिटर)
साताैँ दिन: सुन्तलाबारी होमस्टे–रामबाच्छा
कसरी पुग्ने ?
काठमाडौँबाट हवाईको यात्रामा जाने पर्यटक काठमाडौँदेखि ३० मिनेटको उडानपश्चात् पोखरा पुग्न सकिन्छ । पोखरादेखि तनहुँको गाछेपानी करिब २० किमीको दुरीमा रहेको छ । यसका लागि झन्डै ३० मिनेट छुट्याउनु पर्छ । यस्तै सडकमार्गको यात्रा गरेर पदयात्रा सुरु गर्ने पर्यटक काठमाडौँबाट पोखरा जाने भाडाको जुनसुकै गाडीमा दुलेगौँडा पुग्न सक्ने छन् । यसरी पोखराको यात्रामा निस्केपछि पोखरा पुग्नभन्दा करिब २० किमी वर दुलेगौँडाबाट मिलेनियम ट्रेकको पदयात्रा सुरु हुन्छ ।
कति खर्च ?
यस पदमार्ग खर्चका दृष्टिले पनि निकै सस्तो मानिन्छ । विदेशी पर्यटकलाई एक दिनका लागि खान र बस्नसहित दैनिक तीन हजार खर्च लाग्दछ । यो खर्च ट्रेकिङ गाइडबाहेकको हो । गाइडको छुट्टै खर्च लाग्छ । स्वदेशी पर्यटकका लागि योभन्दा केही कम खर्च लाग्छ ।