• २१ असार २०८२, शनिबार

असारे गीत

blog

हे धर्तीमाता हे अन्नदाता पालिछौ सारालाई

पहिलो चरण चढाएँ मैले धरती धरालाई

अमिलो हुनी कागती रस गुलियो कसार

डाँडैमा बसी फाँटतिर हेर्दा लागेछ असार

लागेछ असार 

डाँडैमा बसी फाँटतिर हेर्दा लागेछ असार ।

मानोमा रोपी उब्जाउने मुरी महिना असार

हली र गोरु बियाडे बाउसे भएर रोपार 

भएर रोपार

हली र गोरु बियाडे बाउसे भएर रोपार । 

आजनि रोपाइँ भोलिनि रोपाइँ खेतमा जानु छ

तरकारी चिउरा अचार बनाई मेलामा लानु छ

मेलामा लानु छ

तरकारी चिउरा अचार बनाई मेलामा लानु छ ।

छुपुमा छुपु बिउ है रोपौँ दबदबे हिलोमा

हारी र गाभा मिलेको आहा रोपाइँको मेलोमा

रोपाइँको मेलोमा

हारी र गाभा मिलेको आहा रोपाइँको मेलोमा ।

ठुलोमा गरा घुमेर रोप्दै भकारी बनाउँला

हिलोमा खेल्दै हिलोको टीका शिरमा बिउ लगाउँला

शिरमा बिउ लगाउँला

हिलोमा खेल्दै हिलोको टीका शिरमा बिउ लगाउँला ।

असार मैन्हा हिलैमा काम हिलैछ अपार

यो धान हाम्रो प्रमुख बाली जिउने आधार

जिउने अधार

यो धान हाम्रो प्रमुख बाली जिउने आधार ।

असारै भरि रोपाइँको काम हुन्छ है चटारो

रोपाइँको काम सकिएपछि गरौँला मैझारो

गरौँला मैझारो

रोपाइँको काम सकिएपछि गरौँला मैझारो ।