एउटा प्रश्नचिह्न त्यसै हराएको छ ।
विलीन भएको छ ।
खोज्दाखोज्दै थाकिसक्यौँ ।
शब्दकोश पल्टाउँदापल्टाउँदै,
भेट्टाउनै सकेनौँ त्यसलाई ।
प्रश्नचिह्नको ‘उत्तर’ त परै जावस्,
भेटिन सकेको छैन त्यही प्रश्नचिह्न ।
पहिले पहिले हिँडेका डोबहरूमा,
कतै भेटिन्छ कि ?
धैर्यको बाँध तैपनि टुट्न सकेको छैन ।
यदाकदा गालीगलौज सुनेकै हौँ ।
त्यसलाई न प्रश्न मान्न सकिन्छ,
न त सुनियोजित उत्तर नै ।
हाम्रो चेतनाको स्तर बढेकै हो ।
तैपनि प्रश्नहरू हराए झैँ गर्छन् ।
बिलाए झैँ गर्छन् ।