• १२ साउन २०८१, शनिबार

राम्री लाङ्दुक

blog

लाङ्दुक, तिमी र म उस्तै उस्तै रूपमा ब्युँझियौँ सखारै । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोसिली बनेकी थियौ । म अघिल्लो दिनको थकाइ तिमीलाई नै सुम्पेर हल्का र जाँगरिलो बनेको थिएँ । तिमी पानी र हिउँका भुत्लाहरूले शीतल बनेकी थियौ, म अघिल्लो साँझ भिजेका कपडाहरू पहिरेर लुगलुग काम्दै थिएँ । 

तिमीसँगै म उठ्दा हामी दुवैलाई उमङ्गित पारेथ्यो अपी, शैपाल र अरू धेरै हिमालका हँसिलो मुहार र त्यतैबाट आएका मगमगाउँदो हावाका झोक्काहरूले । अझ दक्षिणपूर्वकी मारुगोर हिमाल त मुसुमुुसु मुम्कुराइरहिन् हामीलाई देखेर । ‘लु...हाउ...हि...छुम्’ त्यस्तै त्यस्तै आवाज आइरहेछ छिरिङ दाइको घरमुन्तिरको बाटोबाट । 

भ्या...भ्या... पनि गर्दै छन् । उठेर हेरेँ । सयौँ भेडाका हुल पो रहेछन् । प्रायः सबै भेडाका पिठ्युँमा दुई पोका बोकाइएका छन् । पछि ५० जति खच्चर पनि भारी बोकेरै उकालो  लागिरहेछन् । भेडा होस् वा खच्चर, ढिलो हिँड्नेलाई सिम्केनाले सुइठ्याउन छोडेका छैनन् गोठालाहरूले । अघिल्लो दिन पानीले भिजेका बाटोमा भेडा र खच्चरका खुरले अमूर्त चित्र बनाइरहेछन् । उनीहरूको बँडकौला र लितीले रङको काम गरिरहेछ चित्रहरूमा ।

“गाडी हुन् यिनीहरू हुम्लाका, यिनीहरूले भारी नबोके नुन नभेटेरै मर्नु पर्छ गाउँ गाउँमा । भोटतिरबाट पनि ल्याइन्छ, सिमकोटबाट पनि ओसारिन्छ,” छिरिङ दाइ बताउनुहुन्छ, “ए त्यसो भए हुम्लाका ट्रक पो रहेछन् यिनीहरू त । खच्चर ट्रक, भेडा मिनिट्रक होइन त ?”– म र दाइ दुवै हाँस्छौँ । मान्छेको खुसीका लागि मरिमेटेका छन् भेडा र खच्चरहरू पनि । सकुन्जेल भारी बोक्यो, नसकेपछि कसैको अँगेनामा उसिनियो, कसैको थाल र बटुकाबाट वाफ निकाल्यो र मल बनेर माटोमा मिसियो । लेकभरिको यार्सागुम्बाका मुहुनाहरू टोके पनि के अर्थ, खर्कभरिका पाँचऔँले, कुट्की र पाखनवेद कोपरे पनि के अर्थ ? बाँच्नु नै मर्नका लागि, एउटा सूत्र सल्बलाइरहेछ तिनका ताँतीहरूमा ।

चिया पाकेको खबर आउँछ । एक काठे लिस्नुबाट झर्छौं हामी । भाउजूले चौँरीको घिउ र सिधेनुन हालेको भोटेचिया तयार गरिसक्नुभएको रहेछ । कायोल नामको ग्लास जस्तै काठको भाँडोमा चिया पिउन सुरु भयो । कायोल खाली भयो कि भाउजूले चिया थपिहाल्ने । अगेना वरिपरि बसेर घण्टौँसम्म चिया थपीथपी खाने भोटे संस्कृतिको विशेषता नै रहेछ । विष्णुजी र मैलेबाहेक अरू साथीहरूले त चियासँगै उवाको छ्याङ पनि खानुभयो । 

“बिहानै  छ्याङ ?” मैले सोधेँ । “चिसो मेटाउन चिया, थकाइ मेटाउन छ्याङ राम्रो हो नि,” स्पष्टीकरण भाउजूको ।

अन्न अभावको अत्यासमत्यास उग्र छ तिमीमा तर लेकभरि लटरम्म झुलिरहेका यी चियाहरूलाई किन आपूm र अरूको तृप्तिका लागि आत्मोत्सर्ग गराउँदिनौ । आफ्नै आँगनमा गाई हुँदाहुँदै किन मुसा खोज्न भाँंैतारिइरहिछ्यौ ? म चकित छु, तिमीलाई देखेर ।

सङ्कटको साँझ बास पाइयो । अब त हिँड्नु नै छ । हामी बिदा माग्ने तर्खरमा छौँ । कुन क्षणमा कोसँग भेट हुन्छ, कहिले कहाँ पुगेर बस्नु पर्छ, कसलाई थाहा छ र ! अघिल्लो दिन लाङ्दुकमै बास पर्छ भन्ने पनि कहाँ सोचेका थियौँ र हामीले । भेट नभएको भए कहाँ चिनजान हुन्थ्यो र छिरिङ दाइको परिवारसँग । छिरिङ दाइकोमा बसे पनि लाङ्दुकका दस बाह्र घर नै त्यस्तै आत्मीय, त्यस्तै मायालु होलान् भन्ने अड्कल छ मेरो मनमा ।

मलाई तिमी पनि राम्ररी मन प¥यौ है लाङ्दुक ।

“सिमकोट आउँदा यता पनि आउँदै गर्नुहोला । म पनि काठमाडौँ आउँदा भेटौँला ।” छ वटै टाउकामा चौँरीको घिउ दलिदिनुभयो आमाले । शरीर स्वस्थ होस्, रामो सोच आओस्, आँटेको काम पूरा होस्, इज्जत टाढा टाढासम्म पैmलियोस्, त्यस्तै त्यस्तै आशीर्वाद दिनुभयो आमाले । बोतलबाट उवाको छ्याङ खन्याउँदै टाउकोभरि दलिदिनुभयो भाउजूले । पाहुना बिदाइ गर्ने भोटिया संस्कार रहेछ त्यो । “सर र म्यामले अघि मुखले छ्याङ नखानु भएको होइन, अहिले टाउकाले खाइहाल्यो,” जिस्काउनुभयो सुमन र विशालले ।

“एबुदुत,” साथीहरूले भन्नुभयो । “एबुसोङ,” आमा र भाउजूले भन्नुभयो । हामी हिँड्यौँ । छिरिङ दाइको आँगनबाट ओर्लंदा बिहानको ८ बजेको थियो घडीमा । पहिरेका कपडाहरू नसुकेकाले हिँड्न अप्ठेरो छ हामीलाई । तै घामले सुमसुम्याइरहेकाले आनन्द आइरहे छ । तिम्रो शिरमा ताज जस्तै सजिएको पञ्चमुखी हिमालको सेताम्मे संसार देख्दा मन त्यसै त्यसै खुसीले कुतकुतिएको छ । तल बायाँतिर सिमकोट बजारले घरिघरि तिमी हामीलाई नियाल्छ । 

अझ तल दक्षिणतिर खोँचमा खार्पुनाथ छ; जहाँ दोज्याम र हुम्ला कर्णाली मिलिरहे छन् । पूर्र्वतिर ठेहे र पश्चिम उत्तरतिर हिल्दुम गाउँहरू गुचुमुच्च बसेका देख्दा तिनीहरूसँग पनि मितेरी लगाउन पाए हुन्थ्यो भन्छ मनले । तिमै्र आँगनमा स्वदेशी र विदेशी मित्रहरूलाई कैयौँ रात बास बसाउन पाए, तिमै्र खोँच, खोल्सी र पानीढलोमा उम्रेका जरा बुटाको महìव दर्साउँदै सुप र तेलको स्वाद चखाउन पाए, हिउँभन्दा धेरै बर्सन्थ्यो स्वदेशी र विदेशी पैसा । आफूसँगैको श्रीखण्ड फ्याँकेर अरूसँग उत्तिसको स्याउला माग्नु कत्रो दुर्भाग्य ! 

बाटाहरू जिन्दगी जस्तै छन्– उकाला, ओराला, घुमाउरा र सम्म । एकै किसिमको मात्र बाटो हुने हो भने कति निरस हुन्थ्यो होला यात्रा ?

हिल्दुमको ओरालोमा मैले टेकेको ढुङ्गा खस्कियो । घुसमुन्टिएर दुई बल्ड्याङ खाएँ मैले । जङ्गजीले च्याप्प समातिहाल्नुभयो र मात्र, नत्र थङथिलो हुन्थे होलान् मेरा हाडखोडहरू । 

घोडा, चौँरी र भेडाहरू जतासुकै चरिरहे छन् । शान्त पाखाहरूमा वस्तुभाउको सल्बलाहटले एउटा तरङ्ग पैmलिरहे छ ।

“छ्याग्भुलो,” मैले अलिअलि जानेको हुम्ली शब्दमा अभिवादन गरेँ । एक दाइ र एक दिदी ढुङ्गा चिनेर बाटो बनाइरहनुभएको रहेछ । दाइले पनि हात जोडेर बोल्नुभयो, “छ रिङ छ्याग्लामा कोञ्ज्याग्ला फुल ।” “यबु होता ?” मैले के के न हुम्ली भाषा जाने भैmँ फेरि बोलेँ । त्यसपछि मसँग हुम्ली भाषाका कुनै शब्द थिएनन् । दाइ दिदीलाई भने मैले राम्रैसँग हुम्ली बोल्न आउँदो रहेछ भन्ने लाग्यो क्यार ।

‘यबु’– त्यसपछि उहाँहरूले बोल्नुभएको केही बुझिनँ । गाउँ छेउमै त्यसरी बाटो बिग्रिएको छ । गाउँले कसैले बाटो बनाएनन् । बाटो बनाउनु र बाटो देखाउनु जस्तो ठुलो धर्म अरू केही छैन । अस्ति मात्र पनि एक गोरखाली यहीँबाट चिप्लेर घाइते भए, झुमा र झोपा त कति मरिसके, द्यौता पुज्नुभन्दा बाटो खन्दिएको बेस । त्यसै भएर हामी बुढाबुढी नै यो काममा लागेको । “तिमीहरूको धर्म पनि अलिकति चोर्छौं होला हगि हामीले ?” दाइ हाँस्न थालेपछि सबै अथ्र्याउनुभयो साथीहरूले ।

“जिन्दगीमा कसले देखाएको बाटोमा हिँड्नु पर्छ, कसलाई बाटो देखाउनु पर्छ, टुङ्गो कहाँ छ र,” सोचेँ मैले । अरूले देखाएको बाटोमा हिँड्नुभन्दा आफैँले नयाँ बाटो बनाएर अरूलाई डो¥याउन सक्नु कत्रो सफलता, थप सोच सङ्ग्रालियो ।

“आम्मै कति राम्री,” आँखै सामुन्ने तस्बिर झैँ उभिएकी बुराउँसे देखेपछि लोभिएँ म । “अघिसम्म लाङ्दुक राम्री, अहिले बुराउँसे ।”

“सर पनि, घाम देखे घाम राम्रो, जून देखे जून राम्रो, हिमाल देखे हिमाल राम्रो, नदी देखे नदी राम्रो, बादल, अँध्यारो, उज्यालो सबै राम्रो । यत्तिको सँगै हिँडियो कुनै बेला केही नमिठो र नराम्रो मान्नुभएको देखिनँ,” मेरोबारेमा आकलन विष्णुजीको ।

“जिन्दगीका हरेक भेटमा खुसी हुन सक्नु पर्छ विष्णुजी, नत्र त दुःख बढिहाल्छ नि ! प्रकृतिका हरेक कित्तामा रमाउन नसक्नेहरूको भागमा परिरहन्छ पीडा । म अप्ठ्याराहरू माझमा खोज्न चाहन्छु खुसी,” दर्शनको एक झोँका निकालेँ मैले ।

छोर्तेनका लहर छन् बाटाहरूमा । बौद्ध मन्त्रहरू कोरिएका छन् तिब्बती भाषामा । भोकले पिल्सिरहेका ती बस्तीहरूमा, ढुङ्गामा छोर्तेन कुँद्नुको औचित्य पुष्टि हुन्छ हुँदैन, अलमलमा छु म । संस्कारको झिरमा उनिएपछि मुस्किल नै पर्छ निस्कन जो कोहीलाई पनि । छ्वाङछ्वाङ्ती खोलाहरू खसिरहेछन्, पाइला पाइलामा । ख्वै तिनको सदुपयोग ? सदुपयोग नगर्ने हो भने कहाँ चपाउन मिल्छ र सुनलाई पनि ? बुराउँसे गाउँको माझमा पुग्दा अंशु झैँ खुलेको छु म पनि । भिरालोमा अडिएका थेप्चा घरहरू । घर वरिपरि फापर र चोतीले ढाकेका बारीका पाटाहरू । घर अघिल्तिर लटरमम्म फलेका स्याउका रुखहरू । मान्छेहरू पाँडबाट हेरिरहे छन्, बाटा बाटा कुदिरहे छन् । भित्रको व्यथा नबुझ्दासम्म असाध्यै सुन्दर देखिन्छ गाउँ ।

“हामीलाई स्याउ बेच्ने हो, बहिनी ?” उकालो र भोक दुवैलाई शान्त पार्ने जमर्को मेरो ।

“बेच्ने छैन, खान्या भए दिन्छौँ,” कति सरल छ बहिनीको जवाफ ।“हम आँटो खान्या, फाटो लाउन्याले दिएको के खान्या हौ र गोरखालीले,” अर्की बहिनी स्याउको स्याउलाले मुख छेक्दै हाँसिन् ।

“आऊ पो गाला मारुँ, क्यान टिप्दो हौ स्याउ,” अलि छेडखान छ जङ्गजीको बोलीमा ।

स्याउ टिप्दै छन् एकै बोटबाट पाँच छोट्टीहरू । उनीहरूले बाह्र दाना स्याउ दिए । हामीले डिलमा बसेर चपायौँ । पैसा दिन खोज्यौँ । लिन मानेनन् । “खाना खायौ ?” मैले सोधेँ ।

“स्याउ पाएपछि के को खाना खानु, बरु यही पनि सकिन आँट्यो र पो ! घरमा आँटो छैन, स्याउ सकिएपछि के पो खाने हो,” बहिनीहरूका छातीका वेदनाहरू फुत्रुक्क ओर्लिए हाम्रा कान र मनमा । उनीहरूको छाक धान्ने मेलो पो लुटेछौँ हामीले । थक्क थक्क लाग्यो मलाई । घरमा खाने खानेकुरा छैन । बारीमा फलेको फलपूmल बेच्नु बेइज्जति ठान्ने कस्तो चलन ? आङ ढाक्ने धराहरू जीर्ण छन् पाँच छोट्टीहरूको । एउटीले झुत्रो पोते पहिरेकी छन्, दुई वटीले ‘अठुर्नी’, ‘सुकी’ र ‘पाँचनी’ को माला लगाएका छन् । सबैले नाम मात्रको चोली लगाएका छन् । कम्मरमा ‘ठेटुवा’ लगाएका छन् । झ्याङप्वाल छन् सबै कपडा । लाज ढाक्नका लागि लगाएका हुन् परिधान तर प्वाल प्वालबाट निस्केका छन् लाजका  गहनाहरू । लाज ढाक्न स्याउका सेउलाको आड लागेका स्पष्ट बुझ्यौँ विष्णुजी र मैले । 

तोर्पा होउ वा लाङ्दुक, हिल्दुम होउ वा बुराउँसे तिम्रो विपन्नतामा भित्रभित्रै भुटभुटिएको छु म । यति सुन्दर शरीर छ तिमीहरूको, डाँडाकाँडालाई जीवन दिनसक्ने यति उत्साही आँट छ तिमीहरूको । तैपनि तिमीहरू केही नभए झैँ उजाड बनिरहेछौ, कोही नभए झैँ उदास देखिइरहेछौ । उदास मनमा उकालो चढ्नु जस्तो नमजा अरू केही हुँदैन, हामी केही बेर उकालो चढेर तलतिर झ¥यौँ ।

फेरि भेटियो हुमाने खोला । फेरि हिँडियो डालेचुकको जङ्गलै जङ्गल । हुमाने एउटाबाट मात्र बिजुली झिक्ने हो भने कति छिट्टै हराउँथे तिम्रा दुःखका दिनहरू । डालेचुकको मात्र सर्बत, वाइन र सोमरस व्यवस्थित रूपमा बनाउने हो भने कति छिट्टै फालहालेर आउँथे होलान् सुखका क्षणहरू । आफ्नै नाइटोमा बिना बोकेर सुगन्ध खोज्न हिँडिरहेकी तिमीलाई छाम्दा म हिल्दुम खोलाभन्दा दुःखित बनेर तलतल झरिरहे छु ।  मास्तिरबाट एक हुल चौँरी आँखै नहेरी फालहाले । हामीलाई बाटोमै कुल्चिमिल्ची पार्लान् जस्तो भयो । हाम्रा अङ्ग अङ्गमा सिङले दुलो पार्लान् भन्ने डर लाग्यो । धन्न डालेचुकको रुख रुखमा छेकियौँ र पो बाँचियो । हामी सिमकोट बजारनेर पुग्दा प्रहरीको एक डफ्फा उकालो चढिरहेको भेटियो । “रल्लिङ हिमालमा औषधी खोज्न गएका दुई जना लेक लागेर मरे भन्ने खबर आयो, उद्धारका लागि हिँडेका,” डफ्फाका नाइके बोले । हामी सबैको अनुहारमा एकाएक पैmलियो कालो कुहिरो । बुटीहरू बटुलेर संसारलाई चखाउन खोज्नेहरू नै भोक र ठण्डीले मरेका छन् हिमालहरूमा । 

 

Author

डा. दामोदर पुडासैनी