गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २७ गते । अभिनव साहित्य समाजको २८४ औँ शृङ्खला राजधानीमा सम्पन्न भएको छ । समाजले राजधानीमा एक कार्यक्रम गरी अभिनव कमला सङ्घर्षशील नारी सम्मान–२०८२ पुराण वाचिकाद्वय गार्गी चौलागाईं ‘शाकम्भरी’ र सरस्वती चौलागाईं ‘शाम्भवी’ लाई संयुक्त रूपमा प्रदान गरेको छ । प्रमुख अतिथि पत्रकार रोचक घिमिरे, विशेष अतिथिहरू गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले उक्त सम्मान प्रदान गर्नुभयो ।
सोही अवसरमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालद्वारा लिखित ‘अन्तर्मनका तरङ्ग’ नामक कथासङ्ग्रहको पनि लोकार्पण गरिएको थियो । सङ्ग्रहमा समसामयिक परिवेशका विभिन्न ५१ वटा कथा सङ्गृहीत छन् ।