काठमाडौँ, असोज २८ गते । मनोवैज्ञानिक विरोधाभासभित्र बाँचेका मानिसका आत्मानुभूतिलाई क्यानभासमा उतार्ने क्रममा उद्धवराज रिमालले शीर्षक जुराउनुभएके छ, ‘इकोज अफ दी सौल’ अर्थात् आत्माका प्रतिध्वनिहरू ।
सामाजिक यथार्थ, सम्बन्ध, अस्तित्व एकातिर हुन्छ । समाजभित्र व्यक्तिको यथार्थ, सामाजिक यथार्थ र अस्तित्वको यथार्थको अन्तरद्वन्द्वबिच बाँचेको हुन्छ । यिनै शाश्वत पक्षलाई वैचारिक मन्थनसाथ कलाकार उद्धवले रङको सहारामा क्यानभासमा प्रतिविम्बित गर्नुभएको छ । ठमेलस्थित दलाई–ला आर्ट स्मेसमा आइतबारदेखि सुरु भएको प्रदर्शनीमा १२ वटा कलाकृति राखिएका छन् । कन्टेम्पोररी आर्ट अफ नेपाल फाउन्डेसनद्वारा आयोजित सो प्रदर्शनी कलाकार उद्धवको पहिलो हो । मङ्सिर १४ सम्म सो प्रदर्शनी सञ्चालनमा रहने जनाइएको छ ।
कलाकार उद्धव आफ्नै कलाबारे भन्नुहुन्छ, “म आफ्ना चित्रमा प्रायः टाउकोबाट सर्प झैँ लहराउँदै लिङ्ग र योनीमा तुनिएका पात्रहरू प्रस्तुत गर्छु ।”
कलाकार रिमाल भन्नुहुन्छ, “यी विम्ब मानव पहिचानका आधारभूत सचेत हुन् तर समाजले तिनलाई विकृत र अश्लील अर्थमा भाष्यकरण गरेको छ । यौन अङ्गहरू जससँग हाम्रो अस्तित्वको आरम्भ र जीवनको पवित्रता गाँसिएको छ । त्यसलाई समाजले उल्टो दृष्टिले हेर्ने प्रवृत्ति नै मेरो अभिव्यक्तिको केन्द्र बनेको छ ।”