गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २७ गते । रङ्गमञ्चबाट आफ्नो कलाकारिताको यात्रा सुरु गर्नुभएका रङ्गकर्मी प्रदीपकुमार चौधरी (पिके डन) अभिनयसँगै निर्देशन र लेखनमा पनि पोख्त हुनुहुन्छ । उहाँ निर्देशित पहिलो नाटक ‘मसानटार’ हो । झिम्के मामा, काला पत्थर माथि, आकाशको बाटो, एक सिक्कालगायत एक दर्जनभन्दा बढी नाटक लेखन तथा निर्देशन गरिसक्नुभएका प्रदीपलाई रङ्गमञ्चसँगै चलचित्रमा पनि रुचि बढ्दै गयो । सधैँ केही फरक भूमिका गर्न रुचाउनु हुने प्रदीपले ‘मौन’ चलचित्रबाट आफ्नो पदार्पण गर्नुभयो । उहाँले ‘कबड्डी’ र ‘वधशाला’ मा पनि अभिनय गर्नुभएको छ ।
प्रदीप अभिनीत ‘होस्टल रिटन्र्स’ र ‘एक्टर : टेक वान’ दर्शकको धेरै रुचाइएका चलचित्र हुन् । यी दुवै चलचित्रमा उहाँ बिल्कुलै फरक भूमिकामा देखिनुभएको छ । चलचित्र होस्टेल रिटन्र्स मा उहाँ ‘पिके डन’ उपनाम भएको खलनायकको भूमिकामा देखिनुभएको थियो । सोही पात्रको भूमिकालाई धेरै रुचाइएको थियो र अहिले पनि उक्त पात्रको उपनाम दर्शकमाझ उत्तिकै चर्चित छ । उहाँ अभिनीत चलचित्र ‘वरिष्ठ बलराम’ तिहारको भाइटीकाको दिन प्रदर्शनमा आउँदै छ । उक्त चलचित्रमा दयाहाङ राई र विजय बरालको नोकझोकबिच उहाँ खलनायकको भूमिकामा देखिनुभएको छ । त्यस्तै चलचित्र ‘शिवांश’ मा पनि उहाँको अभिनय रहेको छ भने उहाँको शीर्ष भूमिका रहने चलचित्र ‘सत्यवीर’ हालै घोषणा भएको छ । यसका साथै प्रदीपले निर्माण तयारीमा रहेको चलचित्र ‘रातो पासपोर्ट’ बाट पटकथा लेखनका रूपमा पदार्पण गर्दै हुनुहुन्छ ।