• १५ वैशाख २०८१, शनिबार

धरहराको ठुटोबारे अझै निर्णय भएन

blog

काठमाडौँ, फागुन १९ गते । विसं २०७२ को भूकम्पमा ढलेको धरहराको ठुटो संरक्षण गरेर राख्ने वा भत्काउने भन्ने विषय टुङ्गो लागेको छैन । संरक्षण गर्दा पनि त्यसलाई सिसा वा अन्य वस्तुले छोपेर राख्ने वा खुलै छाड्ने विषय पनि अनिर्णित छ । नयाँ धरहरा स्तम्भ निर्माण भएको तीन वर्ष पुग्न लागेको छ । 

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले धरहराको ठुटो संरक्षण गर्ने वा भत्काउने विषयमा परामर्श सुरु गरे पनि अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

आयोजना प्रमुख कोषनाथ अधिकारीले मुलुकको राजनीतिक इतिहाससँग जोडिएको सम्पदा भएकाले धरहराको ठुटो आयोजनाको सूची तथा कार्ययोजनामा रहेको बताउँदै यसलाई संरक्षण गर्ने वा भत्काउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “धरहराको ठुटो पुरातात्त्विक सम्पदासँग जोडिएकाले यसलाई के गर्नेबारे पुरातत्त्व विभागसँग छलफल भइरहेको छ । विभागको सुझावका लागि पत्राचार गरिएको छ तर अहिलेसम्म लिखित वा मौखिक कुनै जवाफ आएको छैन ।” उहाँले जवाफ आउनेबित्तिकै थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो । आयोजनाले दुई महिनाअघि पुरातत्त्व विभागलाई पत्राचार गरेको थियो ।

पुरातत्त्व विभागको महानिर्देशक सौभाग्य प्रधानाङ्गले धरहराको ठुटो संरक्षणका लागि सम्बन्धित निकायसँग छलफल अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको ठुटो धरहराको इतिहास र भावनासँग समेत जोडिएको वस्तु हो । संरक्षण गर्नका लागि नै अहिलेसम्म त्यसलाई बिगार्न दिइएको छैन । विज्ञहरूसँग छलफल गरेर यसको संरक्षण गरिने छ । ठुटोलाई सिसा वा कुनै किसिमले नछोपी घामपानीले असर नगर्ने गरी वैज्ञानिक किसिमले त्यसको संरक्षण गरिने छ ।” उहाँले त्यसबारे निर्णय भने भइनसकेको बताउनुभयो ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइसँग समन्वय गरेर यसै आर्थिक वर्षदेखि ठुटो संरक्षणको काम सुरु गरिने जानकारी दिनुभयो । ठुटो धरहरा १९९० सालको महाभूकम्पपछि निर्माण गरिएको हो । ढलेको धरहराको अवशेषलाई टुँडिखेलमा थुपारिएकोमा त्यसलाई हटाउन सुरु भइसकेको छ ।