• १६ वैशाख २०८१, आइतबार

साफ महिला यु–१६ च्याम्पियनसिप

नेपालको लक्ष्य उपाधि

blog

काठमाडौँ, फागुन १८ गते । घरेलु टिम नेपालले साफ महिला यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिता शुक्रबार सुरु हुँदै छ । 

नेपालको महिला यु–१६ को कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएकाले आफ्नो टिमको लक्ष्य नेपाललाई स्वर्ण जिताउने रहेको बताउनुभयो । उहाँले एन्फाको मैदानमा प्रशिक्षण भएको र प्रतिस्पर्धा पनि सोही मैदानमा हुने भएकाले आफूहरूलाई फाइदा हुने छ, भन्नुभयो । ‘वाफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीका दिदीहरूले गरिरहेको शानदार प्रदर्शनले पनि प्रोत्साहन मिलेको छ । “हामी उपाधि जित्न नै खेल्ने छौँ,” कप्तान भूमिकाले भन्नुभयो ।

यसै गरी प्रशिक्षक चक्र तामाङले घरेलु समर्थक र मैदानमा खेल्ने र प्रशिक्षण राम्रो भएका हुनाले आफ्नो टिमले राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘विगत एक महिनादेखि प्रशिक्षणमा छौँ । उहाँ भन्नुहुन्छ, साफ यु–१५ को उपाधि जित्ने खेलाडी टिममा छन् । त्यसैले ठुलो अपेक्षा छ । यसअघि यु–१५ र यु–१७ को नाममा हुँदै आएको यो प्रतियोगिताको छैटौँ संस्करण यु–१६ उमेर समूहमा हुन लागेको हो । सन् २०१७ मा भएको चौथो साफ यु–१५ मा नेपालले उपधि जितेको थियो । सन् २०२३ मा पहिलो पटक यु–१७ च्याम्पियनसिप हुँदा भने नेपाल चौथो भएको थियो ।

नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहेको यस च्याम्पियनसिपको उद्घाटन खेल भारत र भुटानबिच हुने छ । घरेलु टोली नेपालले फागुन १९ गते बङ्गलादेश, फागुन २१ गते भुटान र फागुन २४ गते भारतसँग खेल्ने छ । लिग चरणले सबै टोलीले एक आपसमा खेलेपछि शीर्ष दुईमा रहने टोलीबिच उपाधिका लागि अन्तिम खेल हुने छ ।

 नेपाली टोली

गोलकिपर : झरना डुम्राकोटी, सुनिता स्याङ्तान, लक्ष्मी ओली

डिफेन्डर : दीक्षा रायमाझी, रेजिना लामा, मीना चन्द, कृतिशा तामाङ, अंशु विक, मीनमाया श्रेष्ठ, एलिजा विक, ज्ञानुडोल्मा लो

मिडफिल्डर : भूमिका बुढाथोकी, आशिका कार्की, बबतिका कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ, रविना विक, सविना तामाङ

फरवार्ड : पूजा गिरी, अनिता रानामगर, यमकुमारी विक, पूर्णिमा थारू ।