• ७ जेठ २०८१, सोमबार

कार्यान्वयनमा आएन मालवाहक सवारी प्रवेश निषेध नीति

blog

काठमाडौं, फागुन १७ गते । काठमाडौं उपत्यकाका भित्री सडकमा निषेधित समयमा ठुला मालवाहक सवारी साधनको प्रवेश हुन नदिने नीति कार्यान्वयनमा आउन सकेको छैन ।

यातायात व्यवस्था विभागले २०७६ सालमा उपत्यकाभित्रका सडकमा बिहान ८ देखि बेलुका ७ बजेसम्म ठुला मालवाहक सवारीसाधन चल्न नदिने नीति लिएको थियो । तर अहिले त्यो नीति कागजमा मात्र सीमित भएको छ ।

सो नीति लागू नहुँदा अहिले उपत्यका भित्री सडकमा ट्रिपर बिना रोकावट चलिरहेका छन् । साथै, ठुला मालवाहक सवारी पनि गुडिरहेको देखिन्छ । अत्यावश्यक बाहेकका मालवाहक सवारी उपत्यका प्रवेश हुँदा अनावश्यक ट्राफिक जाम भइरहेको छ ।

२०७६ सालमा यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक कुमार दाहालको संयोजकत्वमा बसेको बैठकले सार्वजनिक बिदाको समयमा बाहेक बिहान ९ देखि ७ बजेसम्म आपतकालीन तथा अत्यावश्यक बाहेक अन्य सबै प्रकारका मालवाहक सवारी साधनलाई सञ्चालन तथा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि उक्त निर्णय गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु यो विषय कार्यान्वयन नभएको स्वीकार्नुहुन्छ । उहाँले भन्नुभयो, “यो निर्णय कार्यान्वयनमा जानुपर्ने हो । कार्यान्वयन भएको खण्डमा मात्र उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुन्थ्यो ।”

उहाँका अनुसार ट्रिपरहरु चलेको गुनासो बढी आइरहको छ । उहाँले भन्नुभयो, “निषेधित समयमा ट्रिपरहरु बढी चलेको गुनासो आउने गरेको छ । यसको नियमन गर्नका लागि हामीले ट्राफिक प्रहरीसँग समन्वय मात्र गर्न सक्छौँ ।”

२०७६ सालमा सुरक्षा समितिले दिएको सुझावका आधारमा नै दिउँसोको समयमा उपत्यकाका भित्री सडकमा मालवहाक सवारी चलाउन नपाइने व्यवस्था गरिएको छ ।

‘नियम मिच्नेलाई कारबाही हुन्छ’
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम मिच्ने मालवाहक सवारीलाई कारबाही गरिँदै आएको जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार राति नौ बजेदेखि विहान पाँच बजेसम्म काठमाडौंका चार नाकाबाट मालवाहक सवारीहरु मात्र आउने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, “रातको नौदेखि बिहान पाँच बजेसम्म मात्र मालवाहक सवारीहरु उपत्यका छिर्न पाउने व्यवस्था गरिएको छ । अन्य समयमा चलेका मालवाहक सवारीलाई कारबाही गरेका पनि छौँ ।”

उहाँका अनुसार पछिल्लो साता औसतमा दैनिक ५० वटा ट्रिपर कारबाहीमा परेका छन् । यसबारे आफूहरुले निरन्तर निगरानी गरिरहेको उहाँ बताउनुहुन्छ ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामीले निरन्तर नै अनुगमन गरिरहेका छौँ । नियम उल्लङ्घन भएको भेटिँदा कारबाही गरेकै छौँ ।”
सबैको साथ आवश्यक छ ।

उपत्यकाको चक्रपथभित्रका सडकहरुमा अत्याधिक सवारी जाम पछिल्लो समय बढेकाले यसको व्यवस्थानमा तीन तहका सरकार र स्थानीयको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

सवारीको चाप बढेको तर सडकको अवस्था भने उही नै रहेकाले यसको व्यवस्थापनमा सबै लाग्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकामा सवारीको चाप बढेको छ । तर सडकको अवस्था भने उस्तै छ । भित्री सडकहरुका ठुला सार्वजनिक यातायात कसरी चलाउने भन्ने कुरा सबै निकायले समन्वय गर्नुपर्ने आवश्यक छ ।”

ट्राफिक प्रहरी नीति नियम कार्यान्वयन गर्ने निकाय मात्र भएकाले उपत्यकाको जामलाई कम गर्नका लागि केही नीतिगत निर्णय नै आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

कतिपय स्थानमा अहिले पनि एकतर्फी रहेका सडक छन् । केही सडकहरुमा चारपाङ्ग्रे सवारीको प्रवेशमा रोक लगाइएको छ । तर सबै सडकमा यो सम्भव नहुँदा जाम हुने गरेको श्रेष्ठ स्वीकार्नुहुन्छ ।
व्यावहारमा कार्यान्वयन हुनुपर्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बनाएको नीति व्यवहारमा पनि कार्यान्वयन गर्नुपनर्ने बताउनुहुन्छ । निषेधित समयमा चलाउन नपाइने मालवाहक साधनहरु चलेको पाइए कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । तर कतिपय निर्णयहरु सरकारी तवरबाट नै कार्यान्वयन नभएको नपाइएको उहाँ बताउनुहुन्छ ।

‘‘ट्राफिक व्यवस्थापन सम्बन्धी निर्णयहरु कार्यान्वयनमा सरकारकै कार्यान्वयन पक्ष कमजोर देखिएको छ,’’ उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनका लागि काठमाडौंं महानगरले लामो दूरीका यात्राका लागि यात्रु ओराल्ने र चढाउने निर्णय गर्‍यो तर त्यसको कार्यान्वयन नै भएको छैन ।”

एडिबिले १० वर्ष अघि उपत्यकाको सडकलाई तीन भागमा विभाजन गरेर सवारी चलाउनका लागि दिएको निर्देशन पनि कार्यान्वयन नभएको स्वाँरको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।