• २० वैशाख २०८१, बिहिबार

मष्टादेवका धामी चलेपछि

blog

कसैले “तिमी ईश्वर मान्छौ ?” भन्ने प्रश्न गरेमा मेरो जवाफ हुन्छ, “म ईश्वर मान्छु । म ईश्वर मान्दिनँ ।” मन्दिरहरू पुग्छु, पूजापाठ गर्छु, जपतप गर्छु, मानिआएको हिन्दु परम्पराको पालना गर्छु । त्यो पनि श्रद्धापूर्वक । आफ्नो लागिभन्दा पनि समाजको लागि, अझ भनाँै परिवार वा आफन्तका लागि यी सबै कुरा गर्दा रमाइलो लाग्छ । यसैबिच बझाङ आइपुगेपछि स्थानीय तहको नाम कण्ठ पार्दै गर्दा एउटा नाममा गएर अड्किएँ– मष्टा गाउँपालिका । नाम नै मष्टा भइसकेपछि मष्टादेवको मन्दिर त पक्कै होला भन्ने पनि लाग्यो । मोही पारिसकेपछि नौनीको धूप हाल्ने परम्पराबाट हुर्किएको हुँदा ‘बाह्रमष्टा’ भन्ने नाम कण्ठै थियो । कुलदेवताको रूपमा पूजिआएको देवताको नाम भुल्ने कुरा पनि भएन । ढँडार मष्टाको मन्दिर छ भन्ने थाहा पाएपछि मन अडिएन । माघ १३ को दिन मष्टादेवताको मन्दिरमा पुग्ने लक्ष्यले उकालो लागियो ।

चैनपुर बजारको पूर्वतर्फ बग्ने सेती नदीमाथिको झोलुङ्गे पुल तर्नेबित्तिकै मष्टा जान लाइन लागेका हुन्छन् बोलेरो गाडीहरू । एक गाडी समातेर केही पर पुग्नासाथ डुङ्ग्रीखोला तर्नु पर्छ । त्यहाँबाट अत्यन्त असजिलो मोड कट्दै गर्दा देखिन्छ, नाननदेवको मन्दिर । मष्टदेवका भान्जासमेत भनिने नाननदेवको जात (जात्रा) मा चाभाईं र फाग (ईश्वर पुकार्ने रीति) हालेको केही दिनअघि पनि देखेको थिएँ । सोमा माडा (कीर्ति) हाल्दै धामी काँप्दै हिँडेको सम्झँदै गर्दा सेतीको किनारै किनार तेर्सिंदै थियौँ हामी । सेतीपारि राजा जयपृथ्वीबहादुर सिंह, देवीजङ्ग र रामजङ्गले राज्य सञ्चालन गरेको भोपुर दरबार 

दिग्दारीसाथ ठडिइरहेको थियो– संरक्षणको पर्खाइले । सेतीकै किनारको पुरानो एयरपोर्ट कटेर उकालो चढेपछि असाध्यै असजिलो धुलो बाटोमुनि देखिन्छ लाछिगाड । लाछिगाडबाट क्रमशः उकालो लाग्दै गर्दा ससाना फोगटा खेतहरू, सानै आकारका रैथाने गाई, बाख्रा र गोठालो हिँडिरहेका मानिसले स्वागत गरे जस्तो लाग्छ । छाडा भइसकेका गाई बाटो छोड्दैनन् । घरपालुवा भागेर भिरबाट खस्लान् भन्ने पीर लाग्छ । करिब १२ किलोमिटरको यात्रापछि पुगियो ढँडार मष्टा मन्दिर ।

माटोको लिउन लगाएको गोला गोला पिल्लरहरूले थेगेको मन्दिरमा बाहिरतर्फ एक फेरो पिँढी जस्तो भाग देखिन्छ । ठाउँ ठाउँमा घन्ट झुन्डिएका देखिन्छन् । अघिल्लो मेलामा गाडिएको ५० फिट जतिको खामो ठडिएको देखिन्छ । सेतो, रातो र पहेँला धराहरू र नेपालको झन्डा आकारका धार्मिक झन्डाहरू फहराइरहेका देखिन्छन् । मन्दिरको छानो जस्ताले छाएको छ । “पहिला ढुङ्गाको स्लेटले नै छाएको थियो,” धामीका मुख्य सहयोगीले जस्तातर्फ ध्यान दिनासाथ भने । अगाडि एउटा देवल र सानो सामान राख्ने जस्तो ठाउँ थियो । ढुङ्गाले चिनेर उठाइएको मन्दिर परिसरमा छिर्ने एउटा ढुङ्गाकै ढोका बनाइएको देखिन्थ्यो । मन्दिरको अगाडि एउटा बुढो तर निकै ठुलो किम्मुको बोट ठडिएको थियो । “तीन हजार वर्ष पुरानो हो यो रुख,” उनै सहयोगीको विश्वास बोल्यो एक पटक ।

मन्दिरको एक छेउमा लडिरहेको गोलो सिलौटो आकारको र लोहोरो जस्तो ढुङ्गालाई देखाउँदै उनले भने, यो लुमडी शिला हो; जसलाई सिँजापति राजाले तपस्या गरेर बनाएका हुन् ।” थाहा भयो, जुम्लादेखिका मानिसको विश्वास प्राप्त रहेछ, यो स्थल । एक जोडी अहिले पनि त्यहाँ पूजापाठ, ध्यान गरेर बसेको महिनौँ भएको रहेछ । मन्दिरको वरिपरिको दृश्य कैद ग¥यौँ आँखामा र मोबाइलमा । सेता रङ लगाएका ससाना घरहरू । मसिना धर्सा खेत, ठाउँ ठाउँमा थुप्प परेका जङ्गल, अग्ला डाँडाहरू, सुक्खा पाखाहरू यताको विशेषता नै हो । भारतलगायत वैदेशिक रोजगारी, जडीबुटीदेखिबाहेक मष्टादेवप्रतिको विश्वास नै हो यहाँका मान्छेहरूको बाँच्ने आधार ।

मन्दिरभित्रको हिस्सा तीन भागमा विभक्त देखियो । पहिलो हिस्सामा एउटा पाट (सिंहासन) राखिएको देखिन्छ । काठको ठुलो सिंहासनमा रुद्राक्षको माला, राता पहेँला कपडाले सजाइएको अनि फूल, नैवेद्य र भेटी चढाएको देखिन्छ । “मष्टादेवको पाट हो यो । यसमा सिद्ध धामी मात्र बस्न सक्छन् । मूल धामी । अघिल्लो धामी मरेपछि १६ वर्षदेखि यसमा कोही बसेको छैन,” उनै सहयोगीले भने । “अरू बसे के हुन्छ ?” मैले सोधेँ । “त्यसको ताप सहन नसकेर मर्छ । मष्टादेव खुसी नभई कोही बस्न सक्दैन,” उनले बझाङी लवजमै बताए ।

यसै मूलभागमा केही पूजा सामग्रीहरू, घन्ट, शङ्खलगायत पूजा भाँडाहरू पनि थिए । बिचमा एउटा आटले सो भागलाई बिचको खण्डसँग छुट्याएको थियो । त्यही आटमा सटिएको दुई ठुला ठुला बुट्टा काटिएका खामोहरू । “यो खामोबारे केही बताउनूस् त ?” मैले जिज्ञासा राखेँ । उनी भन्छन्, “यो खम्बा पुज्ने धेरै विधि छन् । पुजारीले भित्र पूजा लगाइसकेपछि पुजारीको मुखबाट खम्बा बोल्छ । यसमा सुवाकोटी र डोर्यौटी राजाले छुरो (खुकुरी) हानेको हो । बञ्चरोले पनि हानेको । यसमा पनि देवता  बस्छन् । त्यतिबेला हानेको कटारो (सङ्गीन जस्तो हतियार) हामीसँगै छ ।” उनले मष्टादेवको शक्ति बताउँदै थपे, “अठार धार्नी खिप (घाँटीमा हालेको फलामे कवच) हालेर पनि पाठो कटिआएको हो ।” यतातिर धामीमा देवता चढ्ने र देवताले बोकाको बलि खाने प्रचलन अझैसम्म जीवित नै छ । धामीले दाँतले बोका काट्न सक्छन् तर अरूले हेर्न मिल्दैन भन्ने विश्वास रहेछ । तल्कोट, दुर्गाथलीलगायतका स्थानमा पनि यस्तो परम्परा चल्दै आएको सुनिन्छ । सम्झँदा पनि त्यसको भयानकताको झल्कोले आङ सिरिङ भएर आउँछ । एक छेउमा पहेँलो कपडाले एउटा सानो ढोका छेकिएको थियो । अर्कोतर्फ रातोले । ती ढोकाभित्र देवताहरूको बासस्थान मानिँदो रहेछ । पहेँलोतर्फ मष्टादेव र रातोतर्फ मष्टादेवकी इजु    (आमा) मण्डालीको थान रहेछ । मष्टा र मण्डालीको विपरीततर्फ पनि पूजाआजा गरिएको देखिन्थ्यो । त्यो लाकुडा, लाटाखेत र काल्सेनको थान रहेछ । यी मष्टादेवका रखवाली देवता जस्ता मानिँदा रहेछन् ।

बिचको खण्डमा एउटा हवनकुण्ड देखियो । अघिका व्यक्ति हवनकुण्डको बारेमा बताउँदै भन्छन्, “पहिला यो ठाउँमा बरकोटेहरूको खर्क थियो । मष्टाले बिल्ला (बिरालो) को रूप लिएर दही दुध खाने गथ्र्याे । एक दिन उनीहरूले बिरालो समातेर मार्न खोजे । बिरालोले आफूलाई नमार्न तर दही, घिउ र दाउरा राखेर जलाउन भने । यही होमेडो (हवनकुण्ड) बाट मष्टादेव पैयाँजडामा निक्लेको हो ।” विश्वास र परम्परामा चासो लागिरहेको थियो । व्याख्या गरिए जस्तो अमूर्त शक्तिमा सन्देह । मष्टादेवलाई देवताको राजा मानिने रहेछ । सुर्मा, दुर्गा, मालिका, भगवती, शैलेश्वरीलगायत सोह्र बहिनी दुर्गाको एउटै भाइका रूपमा यिनलाई मानिँदो रहेछ । दुधे, दाढे, बान्नी, राउडीलगायत १२ वटा मष्टो ढँडार मष्टबाट गएको मान्ने रहेछन्, यहाँका मानिस । सीम, नाननदेव, लाङ्घा, धल्लेऊ (सुर्मादेवीको छोरा) लाई मष्टोको भान्जाका रूपमा पुज्ने रहेछ । काठमाडौँमा कहीँकतै नभएको बाह्रमष्टा आफ्ना पितापुर्खाले कसरी मान्दै आए भन्ने प्रश्नको जवाफ भेटिरहेको थिएँ म । अछामको कुइकाबाट सरिआएको हो भन्ने कुरालाई यसले पुष्टि पनि गर्दै थियो । विश्वासका कुरा आफ्नो ठाउँमा छ, लहरो त भेटियो भन्ने कुराले आनन्द आइरहेको थियो । यत्तिकैमा छिरे मष्टादेवका धामी । केही समय एउटा आट जस्तो भागमा चुपचाप बसे । खिनाउरो ज्यान, घामले डढेको अनुहार, गढेका आँखा र फुक्लेका दाँत । जिउमा लगाएका सबै लुगा सेता थिए । पुरानो भइसकेकाले कैलो देखिएको थियो । हाँतभरि चाँदीका बाला थिए । सेतो ओढ्ने काँधमा गुथेका र सफा सेतो कपडा भिटुली (पगडी) टाउकोमा बेरेका, कानमा मुन्द्रा, फुस्रो सिन्दुरे टीका लगाएका थिए उनी । केही बेर आराम गरे जस्तो बसेका उनी बुर्लुक्क उफ्रँदै अर्को आटमा पुगेर काम्न थाले । उनको अनुहार कठोर देखियो । आँखा राता देखिए । एकोहोरो मतिर हेरेर उनले भने, “आइजो । यहाँ बस ।”

म उनको अगाडि भुईंमा पलेँटी मारेर बसेँ । धामीजी र मेरोबिचमा कुनै देखभेट र चिनापर्ची थिएन । यसको बावजुद उने यकिनका साथ भने, “मलाई पुज्ने रहेछस् । तीन पटक मकहाँ आउन कोसिस गरेको रहेछस् । आज आइपुगिस् ।”

हो भन्नुको विकल्प थिएन । एक, दुई निजी कुरा पनि बताए । मलाई फेरि पनि लाग्यो, कुनै अमूर्त शक्ति छ । कुनै अमूर्त शक्ति छैन । यस्तै एक, दुई प्रसङ्ग पछि पनि आए । वरपर देखिएका सबैलाई पालैपालो बोलाउँदै केही न केही कुरा भनिरहे उनले । कसैलाई आफ्नो भविष्य के होला भन्ने चासो थियो, कसैलाई हिँड्न लागेको काम बन्ला कि नबन्ला भन्ने चिन्ता । सबैका कुरा सुने उनले र एक एक गरी जवाफ  दिए । म भने यो खालको दृश्यको पहिलो पटक साक्षी भएको थिएँ ।

धामीलाई देवताले छोडे । हामीलाई भोक रोक्ने क्षमताले छोड्यो । फर्किएर कुनै महत्वपूर्ण काममा लाग्नुपर्ने थियो । मन्दिर परिसरका पाँच सय सिँढी छिचोल्दै हामी तलतिर लाग्यौँ । मष्टादेवको दर्शन गरेर तलतिर लागेको मलाई आफैँसँग जोडिएको मानवशास्त्रको एउटा कक्षा लिएर आएको अनुभूति भइरह्यो । ।।अस्तु।।