गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ८ गते । पत्रकार एवं साहित्यकार वसन्त पराजुलीको उपन्यास ‘बखान’ को लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, राजनीतिक विश्लेषक शङ्कर तिवारी, साहित्यकार अमर न्यौपाने, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुस्तकबारे बोल्नुहुँदै राजनीतिक व्यक्तित्व बखानसिंह गुरुङलाई पुस्तकको प्रमुख पात्रका रूपमा अघि सारेर पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण थियो र त्यो चुनौतीपूर्ण कामलाई लेखकले पुस्तकमार्फत सफल बनाउनुभएको बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस्तकमा सात सालको क्रान्तिको कथा, उबेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकको प्रस्तुतीकरणमा राम्रो प्रभाव पारेको छ । उहाँले लेखकले बखान जस्तो व्यक्तिका नाममा पुस्तकमा प्रकाशन गर्नु सराहनीय भएको बताउनुभयो ।
समीक्षकद्वय शङ्कर तिवारी र अमर न्यौपानेले उपन्यासको ऐतिहासिक पक्षका साथै चितवनको बस्ती विकासको इतिहास, कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत केलाइएकोले उपन्यास पठनीय भएको चर्चा गर्नुभएको थियो । साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले भन्नुभयो, “लेखक पराजुलीले पत्रकारितामा जस्तो राम्रो गर्नुभएको छ, आख्यानमा पनि यसरी नै अघि आउनुभएको छ । ऐतिहासिक उपन्यासको साहित्यिक उचाइ बढाएको छ ।”
कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर आफूले उपन्यास तयार पारेको बताउनुभयो । उहाँले चितवनको बस्ती विकासमा, सहकारी स्थापनामा र चितवनको राजनीतिमा बखानसिंह गुरुङको योगदानलाई आफूले सम्मान गरेको उल्लेख गर्नुभयो । कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको समापतित्वमा आयोजना गरिएको थियो ।