• ८ भदौ २०८२, आइतबार

तीनपुस्ते तिज

blog

  • मेलापात र खेतीपातीको कामले मन लागे पनि माइत जान पाइँदैनथ्यो । धन्न बुढापुर्खाले जानेर यो तिज भन्ने चाड बनाइदिएछन् र चेलीबेटी वर्षमा एक दिन भए पनि माइत जान पाउँथेँ । तिजमा जसरी पनि घरकाले बुहारीलाई माइत पठाउनु पर्छ भन्ने मान्यता थियो । टाढा टाढाबाट बर्खाको बेला आउन कठिन हुन्छ भनेर माइतबाट चेलीलाई लिन जाने चलन थियो ।

“कति दिनदेखि तपाईंले यस्तै गीत सुनिरहनुभएको छ । यो हरितालिका तिज भनेको खास कस्तो चाड हो र हजुरआमा ? मैले त गीत गाउँदै र नाच्दै गरेको मात्रै देखेकी छु ।”

 मेरो मोबाइमा बजिरहेको भिडियो हेर्दै मेरी नातिनी शलोनीले सोध्छे । 

“कहाँ त्यति मात्रै हुनु नि ! यो त हिन्दु महिलाको ठुलो पर्व हो नि । आजभोलि मनाउने तिजलाई त के तिज भन्नु ।  तिजको नामको विकृति हो । हाम्रा पालामा छोरी सानैमा बिहे भएर पराइघर जान्थे । वर्ष दिनमा एक पटक बल्ल तिजको करले जन्मघरको आँगन टेक्न पाउँथे । त्यही खुसीमा नाचेर उत्सव मनाउनका लागि गीत बनेका होलान् जस्तो लाग्छ । अहिले त बजारमा बिकाउनलाई अनेक उत्ताउला तिज गीत बन्दा रैछन् । हाम्रा पालामा त तिज आउन लागेपछि नयाँ नयाँ गीत आफैँ रच्थ्यौँ, आफैँ गाउँथ्यौँ । अनि मादल घन्क्याएर आफैँ नाच्थ्यौँ । मनको विरहलाई गीतमा पोखेर मन हलुुका गर्ने पर्व थियो तिज । कति लामा लामा गीत कण्ठ हुन्थे तिमीहरू जत्रा हुँदा । त्यतिखेर न रेडियो, न टिभी न युट्युब । आफैँ मादल ठोक्यो, ताली बजायो अनि धुमपत्तालले नाच्यो ।”

“आहा कस्तो सुन्दै रमाइलो लाग्ने कुरा ! अरू पनि बताउनु न हजुरआमा तपाईंको पालाको तिज कस्तो

हुन्थ्यो ?”  “हाम्रा पालाका कुरा गर्‍याे भनी त तिमीहरूलाई दन्त्यकथा जस्तो हुन्छ बाबै ! के कुरा गर्नु बा त्यो बेलाका दुःखका कुरा । अहिले त तिमीहरूलाई स्वर्ग छ । ठ्याक्कै एघारकी लाग्दा बिहे भएथ्यो मेरो । झुम्राका पुतली बनाएर पुतलीको बिहे खेल खेल्ने त्यो उमेरमा त्यति सानी बालखा अर्काको घर जाँदा कस्तो भयो होला भन त ? आमा आमा भनेर रुँदारुँदै निदाइकी थिएँ रे बिहे भाको रात । मेरो मात्रै कहाँ हो र त्यो बेला सबै केटीहरूको रजश्वला नहुँदै बिहे हुन्थ्यो । जन्मघरको सम्झनाले चरा जस्तै उडेर माइत जाऔँ जस्तो हुन्थ्यो । ऊबेला अहिले जस्तो बाटोघाटो र गाडी थिएनन् । कुरा गर्न फो थिएन । मेलापात र खेतीपातीको कामले मन लागे पनि माइत जान पाइँदैनथ्यो । धन्न बुढापुर्खाले जानेर यो तिज भन्ने चाड बनाइदिएछन् र चेलीबेटी वर्षमा एक दिन भए पनि माइत जान पाउँथेँ । तिजमा जसरी पनि घरकाले बुहारीलाई माइत पठाउनु पर्छ भन्ने मान्यता थियो । टाढा टाढाबाट बर्खाको बेला आउन कठिन हुन्छ भनेर माइतबाट चेलीलाई लिन जाने चलन थियो । कसै कसैका घरकाले लिन नगएसम्म पठाउँदैनथे । कसैका माइतीबाट लिन गएनन् भने माइतीले वास्ता नगरे जस्तो हुन्थ्यो । त्यही दुःख र पीडालाई त्यो बेलाका महिलाहरूले गीत बनाएर गाउन थालेका होलान् ।” 

नातिनीलाई तिजको नालीबेली बताइरहँदा बाल्यकालमा सुमधुर स्मृतिमा चुर्लुम्म डुब्न पुग्छु म । 

“आहा ! कस्तो राम्रो चाड पो रहेछ त तिज भनेको त है हजुरआमा !” “हो नि । अहिले पो पहिलाका दुःख हराए अनि तिज भनेको खालि खाने र नाच्ने चाड जस्तो भयो । ऊबेला त दसैँतिहारभन्दा ठुलो चाड लाग्थ्यो हामीलाई त ।”“खासमा तिज कति दिन मनाइन्छ र हजुरआमा ? मैले त फेसबुकमा एक महिनासम्म तिज भन्दै पार्टी मनाएको अनि ठाँटिएर नाचगान गरेको मात्रै देखेकी छु त ?”

खास तिज त तीन दिनसम्म मनाइन्छ । भाद्र शुक्ल पक्षको तृतीयालाई हरितालिका तिज भनिन्छ । यसको अघिल्लो दिन या तिजको पहिलो दिनलाई दरखाने दिन भनिन्छ, जुन दिन दिदीबहिनी जम्मा भएर, मिठो मिठो पकाएर खाने चलन छ । हरितालिका तिज भनेको निराहार व्रत बसेर भगवान् शिवपार्वतीको पूजा आराधना गर्ने दिन हो । अनि तिजको पर्सिपल्ट, भाद्र महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा ऋषिपञ्चमी पूजा गरेपछि तिज सकिन्थ्यो ।” 

“यो ऋषिपञ्चमी पूजा भनेको के हो नि फेरि ?” 

“सप्तर्षि–पत्नी अरुन्धतीसहित सप्तर्षि (कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ) को पूजा गरिने भएकाले यसलाई ऋषिपञ्चमी भनिएको हो । महिनावारी भएका बेला लाग्ने पापबाट मुक्त हुनका लागि महिलाहरूले गर्ने पूजा हो भन्थे बुढापाकाले ।”

“अनि यो सबै महिलाले गर्नै पर्छ ?”

“हो, सबैले गर्नै पर्छ नि ।”

“मेरी ममीले त गरेको कहिल्यै देखेकी छैन त ! अँ साँच्चै किन गर्नुहुन्न मेरी ममीले हजुरआमा ?” 

“के थाहा ? उसैलाई सोध न । यही विषयमा हामी आमाछोरीको कति लडाइँ हुन्थ्यो ऊ सानी हुँदा ।” “हा 

हा ! हो र हजुरआमा ? सो फन्नी । ममी आएपछि सोध्नुपर्‍याे यो कुरा ।”“अनि हजुरले कहिलेसम्म गर्नुभयो त पञ्चमी 

पूजा ?” “गरेँ नि नछुने नसुकुन्जेल । नछुने सुकेपछि साङ्गे गरेँ ।”“साङ्गे भनेको चाहिँ के हो नि फेरि ?”

“ए, दान दक्षिणा गरेर व्रत सम्पन्न गर्ने चलन हो ।” 

“ए ए ।” “ऊ ! ममी पनि आउनुभयो ।”

शलोनी दौडँदै गएर शैलजाको हात समाउँछे र भन्छे, “ममी एकछिन हामीसँग बस्नु न । एउटा कुरा गर्नु छ तपाईंसँग ।” “के कुरा हो र 

त्यस्तो ? म त एकदम थाकेकी छु छोरी । एकछिन पछि गरे हुन्न ?” शैलजाले अचम्म मान्दै सोध्छे । 

“म, तपाईं र हजुरआमा भएर एउटा विषयमा छलफल गर्नु छ । आज पनि भ्याउन्न नभन्नु नि फेरि ।”शलोनीका कुरा सुनेर शैलजाले मेरो मुखमा पुलुक्क हेर्छे र बोल्छे, “के कुरा हो र त्यस्तो हजुरआमा नातिनीले बसेर गरे भइहाल्यो नि म किन चाहियो र । मेरो कति काम छ ।”

“ह्या हजुर त जहिल्यै काम छ मात्रै भन्नुहुन्छ । आज त जसरी पनि हामीसँग एकछिन बस्नै पर्छ ।” शलोनीले आमाको हात समाएर आफ्नो छेउमा बसाउँछे । 

“सुन्नु न मम्मी आज मलाई हजुरआमाले तिजको बारेमा धेरै कुरा बताउनुभयो । मलाई त हजुरआमाको पालाको तिज मनाउने तरिका सुनेर अचम्म लाग्यो । हजुरआमाले ऋषिपञ्चमी व्रतबारे पनि बताउनुभयो । त्यो सुनेर त म झन् तीन छक्क परेँ । हजुरआमाले भन्नुहुन्छ, सबै केटीहरू मिन्स भएपछि पञ्चमी पूजा गर्छन् रे । तर तपाईंले गर्नुभएन रे ? अनि म मिन्स भएको पनि दुई वर्ष भइसक्यो तर मैले त आजसम्म पञ्चमी पूजा गरेकी छैन । तपाईंले न आफूले गर्नुभयो न मलाई सिकाउनुभयो । आफ्नो संस्कार छाड्नुहुन्न भन्ने तपाईंले यो चाहिँ किन मलाई सिकाउनुभएन ?”

“राम्रो कुरामा छलफल भएछ । खुसी लाग्यो । मैले पञ्चमी पूजा नगर्नुको पछाडि कारण छ छोरी ।” 

“के कारण हो मलाई त झन् सुन्न मन लाग्यो ।” शलोनीले शैलजाका दुवै हात समातेर हठपूर्वक बोल्छे । 

शैलजाले एक पटक मेरो मुखमा पुलुक्क हेर्छे र बोल्न थाल्छे, “ल सुन । तिमीलाई त कथा जस्तो लाग्न सक्छ । रमाइलो पनि छ । हामी सानो हुँदा तिज निकै रमाइलोसँग मनाइन्थ्यो । मलाई त अहिलेको दसैँभन्दा तिज एकदमै रमाइलो लाग्थ्यो किनभने तिज भनेको हाम्रा लागि वर्षको एक पटक नयाँ लुगा फेर्न पाइने चाड थियो । तिजको रमझम लगभग एक हप्ता दस दिन चल्थ्यो तर अहिलेको जस्तो पार्टी, लुगा र गरगहनाको तामझाम हुँदैनथ्यो । देखासिखी हुँदैनथ्यो । सालभरि देशमा घटेका घटना, दुःख र व्यथा समेटिएका नयाँ नयाँ गीत रचिन्थे । साँझ परेपछि छिटो छिटो खाना खाएर आँगनमा टोलका सबै जना जम्मा हुन्थे र नाचगान गर्ने गर्थे । म नाच्न भनेपछि हुरुक्क हुने मान्छे । मेरो खुट्टा त पहिल्यै उचालिइसकेको हुन्थ्यो । हरितालिका तिजका दिन सबै जना रातैराता लुगा लगाएर झुन्ड झुन्ड बनाएर गीत गाउने र नाच्ने गर्थे ।

तिजको रमझम सकिएपछि त्यसको पर्सिपल्ट ऋषिपञ्चमी पूजा आउथ्यो । दतीवन, धुप, बत्ती, फूल, नैवेद्य इत्यादि प्रत्येक सामग्री तीन सय पैँसट्ठी वटा जुटाउनुपथ्र्यो । नुहाउनका लागि पनि धेरै थरी माटो जम्मा गर्थे आमाहरू । म पाँच छ वर्षको उमेरदेखि नै आमाहरूले पञ्चमी नुहाएको हेर्न जान्थेँ । पञ्चमी नुहाएपछि गाउँभरिका महिला एकै ठाउँ जम्मा भएर पूजा गर्ने चलन थियो । पूजा सकिएपछि कन्ने केटीलाई टीका लगाउन पर्छ भनेर हामी छोरीलाई सँगसँगै लैजानुहुन्थ्यो । दिनभर टीका लगाएर दुई सय जति सुका र मोहोर हातमा पर्थे । त्यो बेला तिमीहरूले जस्तो बाह्रैमास फलफूल खान कहाँ पाइन्थ्यो र ? फलफूल भनेको यस्तै पूजाआजामा प्रसादका रूपमा चाख्न पाइन्थ्यो । पूजा सकिँदा आधा दिन बित्थ्यो । निधारभरि टीका र जामाको गोजीभरि ढ्याक पैसा जम्मा गर्न पाउँदा खुसीले हाम्रो खुट्टा भुइँमा हुँदैनथ्यो । अलि बुझ्ने भएपछि भने मलाई ऋषिपञ्चमी मन पर्न छाड्यो ।”

“किन नि ममी ?”

“ऋषिपञ्चमीका दिन जब पाप पखाल्ने नाममा हजुरआमाहरूले माटो र गोबरले नुहाएको देखेँ तब मलाई दिगमिग लाग्न थाल्यो । त्यति मात्रै कहाँ हो र तीन सय पैँसट्ठी चोटि शरीरका एक एक अङ्ग धोईपखाली शुद्ध भएर आएका महिलाहरूलाई जब भान्सामा छुन दिइँदैनथ्यो, म छक्क पर्थें । जान्ने मान्छेलाई सोध्दा पञ्चमी नुहाएर आएपछि नछुने भएको जस्तै बिटुलो हुन्छ रे महिलाको शरीर भन्थे । पूजा गर्दा पनि पण्डितले नछोईकन पूजा गरेको देखेर झन् दुःख लाग्यो । तीनसय पैँसट्ठी चोटि, तीन सय पैसट्ठी थोकले जिउ रगडी रगडी तीन सय पैँसट्ठी पटक पानीमा डुबुल्की मारेर पवित्र भएर आएका आमाहरू कसरी बिटुला भए ? त्यतिमात्रै कहाँ हो र, त्यसपछि जब ऋषिपञ्चमी–पूजा व्रतकथामा आउने कथा सुनेँ त्यसपछि त झन् मलाई यो कर्मप्रति विमोह भएर आयो ।”

“के छ र ममी त्यो कथामा ? बताउनु न ।” शलोनी फेरि ढिपी गर्दै बोल्छे । 

शैलजाले मतिर फर्केर भन्छे, “त्यो एउटा श्लोक छ नि आमा रजश्वलाबारे । पहिला पहिला सुनाइरहनुुहुन्थ्यो नि । त्यो सुनाइदिनु त ।”

“धेरै वर्ष भयो नसुनेको । बिर्सें कि ।” 

शलोनी मेरो मुखमा एकटक हेर्दै म बोलेको 

सुन्न थाल्छे ।

“प्रथमेऽहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी ।

तृतीये रजकी प्रोक्ता चतुर्थेऽहनि शुद्धयति ।।”

“के हो नि यसको अर्थ ?” शलोनी अझ 

जिज्ञासु देखिन्छे ।

“यो भनेको के हो भने, हाम्रो धर्मग्रन्थ अनुसार नारीलाई रजश्वलाको प्रथम दिन चाण्डालिनी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरेपछि बल्ल शुद्ध हुन्छिन् भनेर भनेको छ ।” 

“पूरै अर्थ त बुझिनँ तर चार दिनमा बल्ल शुद्ध हुन्छिन् भनेको रहेछ । होइन त हजुरआमा ?”

“हो, बा !”

 “अनि रजश्वलालाई किन पाप भनिएको रहेछ र मम्मी ? केही त कारण होला नि होइन र ?” 

“किन नहुनु नि ? छ नि । त्यसै त हाम्ले नि किन गर्थिम् र ?” म बिचैमा बोल्छु ।

“त्यो पनि सुनाउनु त हजुरआमा !” शलोनीको जिज्ञासा अझ मरेको छैन ।  “एउटा पुराण छ । भविष्योत्तर पुराण भन्ने । जसमा के लेखिएको छ रे, भगवान इन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाई मारेपछि ब्रह्माजीले भगवान् ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिएछन् रे । जस अनुसार पहिलो पापको पुल्ठो अग्निको धुवाँ मिश्रित ज्वालामा, दोश्रो नदीहरूमा बग्ने फीँज भएको बर्षाको जलमा, तेस्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने ऐँजेरु तथा सेपमा बसेको ढुङ्गाको काईको रूपमा तथा चौथो नारी जातिहरूको रजश्वलाको रूपमा । यस कारण मासिक धर्मका बेला भुलवश भएका पापहरूको निवृत्तिका लागि यो व्रत महिलाहरूद्वारा गर्ने चलन बसेर गएको हो रे ।”

मेरो कुरा सुनेपछि शलोनी हाँस्दै भन्छे, “अनि नारीको भागमा मात्रै त्यो पापको भारी किन हाल्देका होलान् है ? अलिकति त पुरुषको भागमा पनि 

हाल्दिनु नि ?”

शलोनीका कुराले शैलजा छोरीसँग हात मिलाउँदै हाँस्छे, हा हा हा ! “त्यही त भन्या ।”

मैले आमाछोरीको कुरा काट्दै भन्छु, “होइन, ‘छुवाछूतको दोष मेटाउन स्त्री–पुरुष दुवैले व्रत बस्नुपर्ने’ भनेर लेखिएको छ रे लेख्न त शास्त्रमा, तर पछि महिलाले मात्रै गर्ने परम्परा बसेको रे ।”

“कस्ता बाठा है यी नियम बनाउने मान्छेहरू ! यो शास्त्र पनि पक्कै केटा मान्छेले लेखेको होला है हजुरआमा ?” शलोनी मेरो गाला मुसार्दै हाँस्छे । 

छोरीको कुरामा सही थाप्दै हाँस्छे शैलजा, “हा हा मैले पनि यस्तै सोच्थेँ ।”

एकछिन हामी वरिपरिको वातावरण हाँसोको लयमा रुमलिन्छ । 

“आमा छोरीको कस्तो कुरा मिलेको । यल्ले पनि तिम्रो उमेरमा यस्तै उट्पट्याङ कुरा गर्थी ।” म शलोनीको हात समाउँदै भन्छु ।

“हो नि । मैले सबै चलन नराम्रो हो भन्न खोजेको होइन । त्यो बेला स्वास्थ्यका हिसाबले भान्सामा जान बन्देज लगाउनु स्वाभाविक हो । त्यो बेला स्यानिटरी प्याडको त के कुरा अन्डरवयरसमेत थिएन । नुहाउन र लुगा धुनका लागि प्रयाप्त साबुन र पानीको सहज अवस्था पनि थिएन । त्यही भएर पापको डर देखाएर नियम बनाएको हो जस्तो लाग्छ । तर त्यही कुरालाई रजश्वला नबारेको पाप पखाल्नु भन्नु कति जायज 

होला त ?” 

“अनि हजुरआमा हजुरलाई के लाग्छ ? के साँच्चिकै पाप लाग्छ होला त ?” 

“खै ! हामीले त सानैमा त्यही शास्त्रमा लेखेको कुरा सुन्दै आइयो । आफूभन्दा ठुलाले जे सिकाए त्यही सिकियो । तिमीहरू पो स्कुल जान पायौ र किताबमा पढ्न पायौ । हामीले त कसरी सिक्नु ? हामी त पर सरेको बेला साँच्चिकै पर सर्नु पथ्र्यो । गोठमा बस्नुपथ्र्यो । केही छुन पाइँदैनथ्यो । गर्दिनँ भन्यो भने पाप लाग्छ भन्थे । पाप लाग्छ भनिदिएपछि सबैले बार्ने भए । भान्सा, पानी, कुवा बिटुलो नहोस् भनेर पनि त्यस्तो चलन बनाका होलान् भन्नी लाग्छ । त्यो बेलाको समाजलाई गराको नियम, त्यो बेलालाई ठिकै हो जस्तो लाग्छ । अहिले समय फेरियो । अबका समयमा नछुनी बारेर कुनामा बस्छु भनेर के साध्य हुन्छ र ?” 

“ममी, तपाईंले कहिल्यै गर्नुभएन पञ्चमी पूजा ?”

“अहँ, गर्नै मन लागेन । नबुझुन्जेल त खुब रमाइलो लाग्थ्यो पञ्चमी व्रत तर जब माथिल्लो कक्षामा पुगेपछि स्वास्थ्य शिक्षा पढ्न थालियो रजश्वला भनेको के हो ? किन हुन्छ ? भन्ने कारण थाहा पाएँ, मलाई अचम्म लाग्न थाल्यो । यहाँ त दुई शास्त्रहरू लडाइएको रहेछ । एकातिर धर्मशास्त्र, जसले रजश्वलालाई पाप भन्छ र त्यसकै कारण नारीलाई अशुद्ध मानेर चोख्याउन र पाप कटाउन भन्दै ऋषिपञ्चमी जस्ता प्रपञ्च रचिन्छ अर्कोतिर विज्ञान, जसले रजश्वलालाई वरदान भनेको छ । रजश्वला छ र यो सृृष्टिले निरन्तरता पाएको छ । फूलमा पराग ननिस्कँदो हो त फल कसरी लाग्दो हो ? सोच त तिमीले खाने अन्न, फलफूल अनाज सबै रज र परागको सेचनबाट बनेको होइन ? आठ कक्षामा पढ्ने तिमीलाई नैै थाहा छ नि मानवको जन्म कसरी हुन्छ भन्ने । तिमीले जसरी सानो हुँदा मानव जन्मका बारेमा हामीले बताएका भ्रमपूर्ण कुरा पत्याउँदिनौ, त्यसरी नै मैले पनि हजुरआमाहरूले भनेको जस्तो रजश्वला पाप हो भनेर पत्याउन छाडिदिएँ । अनि नारी शरीरलाई अशुद्ध भनेर माटोले रगडी रगडी सुद्ध बनाउनु पर्छ भन्ने मान्यतालाई नकार्न थालेँ ।” 

बोल्दाबोल्दै शैलजाको अनुहार आवेगले रातो देखिन्छ । ऊ फेरि उस्तै गम्भीर भएर बोल्छे, “सम्पूर्ण मानव जातिको सिर्जना भनेकै त्यही रजश्वला हुँदाको रगतबाट भएको हो । यदि त्यसलाई पाप हो भन्ने हो भने त हामी सबै पापबाट उत्पन्न भएका पो रहेछौँ त । पुरुषको सिर्जना पनि त त्यही पापबाटै भएको हो । फेरि महिलाहरूले मात्र पाप पखाल्न पर्ने नियम किन बनेको होला ? तिज आफैँ असाध्यै सामाजिक महìव बोकेको पर्व हो । यसको मौलिकता मासिनु हुँदैन भन्ने कुरामा हामी सजग हुनु पर्छ । हरितालिका व्रत बस्नु, सप्तऋषिको पूजा अर्चना गर्नु आफैँमा नराम्रो कुरा पक्कै होइन । नदी तटमा गएर साथीसङ्गीसँग रमाइलो गर्दै स्नान गर्नुको पनि सामाजिक र वैज्ञानिक महìव होला । दतीवन चपाउनुको पनि स्वास्थ्यका दृष्टिकोणबाट फाइदा होला तर यी सारा विधिविधान सबै पाप कटाउनका लागि हो भन्ने कथ्य सुनेपछि मेरो माथा तातेको हो । गर्दै नगरेको पाप मलाई किन पखाल्न पर्‍यो भन्ने लागेरै ऋषिपञ्चमी पूजा गर्न मन नलागेको हो । मैले नबुझेका यसका अन्य वैज्ञानिक पाटा रहेछन् र सन्तानलाई पनि सिकाउनुपर्ने कुरा रहेछन् भन्ने लाग्दाका दिन भने म अवश्य मेरा छोरीहरूलाई पनि सिकाउन पछि पक्कै पर्दिनँ ।” 

शैलजाका कुरा सुनेर म हाँस्दै भन्छु, “यल्ले त खालि यस्तै कुरा गरेर मान्दै मानिन पञ्चमी गर्न ।”

मेरो कुरा सुनेर शैलजाले मेरो मुखमा हेर्दै हाँस्छे, “हा हा हा ! तपाईं र मेरो कति झगडा हुन्थ्यो है आमा ?”

“हो त ।” हामी आमाछोरीका कुरा सुनेर अचम्म मानेर पालैपालो हामीलाई हर्छे शलोनी । 

“मभन्दा त ममी पो कडा हुनुहुँदोरहेछ है हजुरआमा ?” “खै के भन्ने ? सानैदेखि असाध्यै जिद्दी थिई । आफ्नो चित्त बुझेन भने कसैका कुरा नि नसुन्ने । हुन त त्यही जिद्दीपनका कारण आज यति प्रगति गरी । ऊबेलामा बिहे गर्ने उमेरकी छोरीमान्छे कहाँ परदेशमा एक्लै पठाउने चलन थियो र ? गाउँले सबैले ‘तरुनी छोरी पढ्न विदेश पठाए, अब नाक काटेसी बल्ल थाहा पाउँछन्’ भनेर कति खिसिट्युरी गर्थे हामीलाई । आज उसैले उडाएको जहाजमा चढेपछि बल्ल भन्छन्, “छोरीले पनि पढ्न पाए भने त छोराभन्दा कम हुन्न रैछन् ।”

 “अनि आजभोलिको समाज देखेर कस्तो लाग्छ नि हजुरआमा तपाईंलाई ?” “राम्रा संस्कार र संस्कृति जोगाउँदै जानु पर्छ । हाम्रा परम्परा, पर्व र चाडवाड हराए भने नेपालीपन नै हराउला भन्ने पिर लाग्छ । हाम्रा पालाको जातपात, उचनिच, छोइछिटो भन्ने कुरा नराम्रो सोच रैछ, आजभोलि हराउँदै गयो । नराम्रा कुरा हराएकै राम्रो । खुसी लाग्छ । मान्छे सबै बराबरी हुन् भन्ने कुरा मैले पनि देशविदेश घुम्दै, देख्दै गएपछि बल्ल बुझ्न थालेँ । अनि आइमाई र छोरामान्छे पनि बराबर नै हुन् भन्ने पनि बुझेँ । छोरीलाई नपढाउने, बालखमै बिहे गरिदिने, धेरै केटाटी जन्माउने, पढ्न जान नपाइने यस्ता भेदभाव गर्ने चलन हटेकोमा मलाई एकदम हर्ष लाग्छ । तिमीहरू यसरी पढेको, निर्धक्क हिँडेको देखेर आनन्द आउँछ । हामी अलि पहिला जन्मे छाँै । अलि पछि जन्मिन पाएका भए यस्तो देख्न र भोग्न पाइने रैछ जस्तो लाग्छ ।”

“हो त नि है हजुरआमा ! अब फेरि जन्मनु दुई हजार सय सालमा अनि अझ के के देख्न पाइन्छ ।”

शलोनीका कुराले हामी सबै जना एकै पटक हाँस्छौँ । बगैँचाभरि हाँसो गुन्जिन्छ । मधुपर्क