• ८ भदौ २०८२, आइतबार

जानकी साहित्य पुरस्कार समालोचक डा. पन्थलाई

blog

कवि तथा समालोचक डा. टङ्क पन्थलाई जानकी साहित्य पुरस्कार प्रदान गरिँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, भदौ ८ गते ।
जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घासले यस वर्ष साहित्यकार पन्थलाई प्रदान गरिएको हो । पुस्तकालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘जानकी साहित्य’ पुरस्कार– २०८२ बाट छत्रकोट गाउँपालिका दिगामका पन्थलाई प्रदान गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीद्वारा नगद र सम्मान पत्रसहित उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार पन्थलाई उक्त पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले जानकारी दिनुभयो । वि.सं.२०३३ सालमा रुरु क्षेत्र गाउँपालिका –४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवालीकाे साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दा गर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा एक लाख ५१ हजार १५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको हो । हाल यस अक्षयकोषमा ५० हजार रुपियाँ थप गरिएको छ । उक्त अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्म जयन्तीको अवसर पारेर किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।

सो पुरस्कार स्व. जानकी ज्ञवाली गौतमको सम्झनामा २०७३ सालमा स्थापना गरेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट मोती जयन्तीका दिन प्रदान गरिएको छ । साहित्यकार, समाजसेवी एवम् महिला अधिकारकर्मीको क्षेत्रमा काम गर्दै आउनुभएकी ज्ञवालीको २०७३ मङ्सिर १२ गते अल्पायुमै निधन भएको थियो ।

कवि तथा समालोचक पन्थले नेपाली कविता तथा समालोचना विधामा गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको थियो । उहाँ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखसमेत हुनुहुन्छ । पन्थका नयाँ नेपालको बाटो, विमर्सका स्पर्शहरु, समय स्पर्श, समय स्फोट, समय प्रश्न, ढुकढुकी, पाल्पाली साइनो, पाल्पाली साइनो–२, अभिव्यञ्जना गरी ९ वटा कविता सङ्ग्रह प्रकाशनमा आएका छन् । त्यस्तै, उहाँका पाल्पा साहित्येतिहास र समालोचना र विश्वेश्वरप्रसाद कोइरालाः कृति र प्रवृत्ति –२ समालोचना कृति प्रकाशनमा आएका छन् ।

यसभन्दा अगाडि उक्त पुरस्कार सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागीरथी श्रेष्ठले २०७६ सालमा र रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा, रुद्र ज्ञवालीले २०७९ सालमा हरिप्रसाद भण्डारीले २०८० सालमा र ठाकुर शर्मा भण्डारीले २०८१ सालमा प्राप्त गरिसक्नुभएको छ ।