चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ८ गते। नेकपा (एमाले) ताप्लेजुङले फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कडा (हदैसम्मको) कारबाही गर्न माग गरेको हो।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीका वडाध्यक्ष सेन्दाङमाथि शनिबार साँझ सदरमुकाम फुङ्लिङ बजारमा सामूहिक आक्रमण भएको थियो। मरणासन्न हुनेगरी सेन्दाङमाथि गुण्डागर्दी शैलीमा साङ्घातिक आक्रमण भएको भन्दै एमाले ताप्लेजुङले आक्रमणमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको छ।
एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्बो, केन्द्रीय कमिटी सदस्य टङ्क आङ्बुहाङसहित पार्टी नेतृत्वहरुको उपस्थितिमा आयोजित पत्रकारमा सो घटना योजनाबद्ध र सुनियोजित भएको उल्लेख गरिएको छ।
एमालेका कार्यवाहक जिल्ला अध्यक्ष दीपेन्द्र पोमूले जारी गर्नुभएको विज्ञप्तिमा आक्रमणको घटनामा संलग्नलाई प्रहरी प्रशासनले तत्काल कारबाही नगरे शान्ति सुव्यवस्था कायम गर्न र गुण्डागर्दी नियन्त्रण गर्न प्रतिकारमा उत्रिने चेतावनीसमेत दिइएको छ।
यस्तै नेकपा (एमाले) ताप्लेजुङका नौवटै पालिका कमिटीले पनि घटनाको निन्दा गर्दै वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्ने तथा दोषीलाई कारबाही गर्न माग गरेका छन्। एमाले निकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटीसहित विभिन्न भातृ तथा जनवर्गीय सङ्गठनहरुले पनि छुट्टा–छुट्टै विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
एमाले जिल्ला कमिटी सदस्यसमेत रहनुभएका सेन्दाङ र पार्टीका अर्का जिल्ला कमिटी सदस्य मनकुमार तेङ्बुङमाथि शनिबार पार्टी बैठकमा सहभागी भएर घरतर्फ फर्कने पाँच–सात जनाको समूहले आक्रमण गरेका बताइएको छ। आक्रमणबाट गम्भीर घाइते हुनुभएका सेन्दाङको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको बिएण्डसी अस्पतालमा उपचाररत रहनुभएको एमाले ताप्लेजुङले जनाएको छ। यता घटनाका संलग्नको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।