काठमाडौं, भदौ ७ गते । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेको कमी कमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउनका लागि भूमिका निर्वाह गर्न नेविसंघलाई सुझाव दिनुभएको छ ।
नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभालाई सम्बोधन गर्दै उहाँले परिवर्तित समयअनुसार नेविसंघको भूमिका परिष्कृत हुनपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले नेविसंघका गतिविधि शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थी सबैले रूचाउने ढँगले अगाडि बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाव दिनुभयो ।
अहिलेको परिवर्तित समयमा नेविसंघले विद्यार्थीका मुद्दा राम्रोसँग पहिचान गरेर सम्बोधन गर्नतर्फ लाग्नुपर्छ ।
उहाँले भन्नुभयो, ‘‘शिक्षामा कमीकमजोरी हटाउन र समाजमा रहेको असन्तुष्टि मेटाउन नेविसंघले काम गरोस्, शिक्षा क्षेत्रलाई राम्रोसँग अघि बढाउँदा समाज गतिशिल हुने भन्दै शैक्षिक सुधारमा जोड दिनुपर्छ ।
नेविसंघ काठमाडौंका पूर्वअध्यक्ष समेत रहिसकेका सिंहले नेविसंघको महाधिवेशन नजिकिएको भन्दै उपयुक्त व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनका लागि अहिलेबाटै लाग्न पनि विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
उहाँले संसदमा शिक्षा विधेयक प्रक्रियामा रहेको र यसले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेविसंघले विगतमा खेलेको भूमिकाको चर्चा गर्दै नेविसंघलाई गतिशिल बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेविसंघ काठमाडौं जिल्लाका पूर्व अध्यक्षहरलाई सम्मान पनि गरिएको नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसीले बताउनु भयो ।