गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ७ गते । नेपालमा क्लाउड सेवा प्रदान गर्दै आएको एक नेपाली सूचना प्रविधि कम्पनी अमेरिकी प्रविधि कम्पनीले खरिद गरेको छ ।
नेपाली आइटी कम्पनी एडेक्स इन्टरनेसनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड ४१ लाख रुपियाँ) मा खरिद गर्ने सम्झौता गरेको एडेक्स व्यवस्थापनले जनाएको छ ।
यो कम्पनी क्लाउड कन्सल्टिङ, एडब्लुएस कन्सल्टिङ, डेभओप्स कन्सल्टिङलगायतका काम गर्दै आएको छ । तीन वर्षको छोटो अवधिमै एडेक्स नेपालको अग्रणी क्लाउड कन्सल्टिङ कम्पनी बनेको छ । कम्पनीमा ६० जना प्राविधिक जनशक्ति कार्यरत छन् ।
नेपालमा लगानीको वातावरण नभएको, नीतिगत उल्झन रहेको र व्यवसाय गरेर गरिखाने वातावरण नभइरहेको आमगुनासोका बिच खुलेको तीन वर्षमै एडेक्स इन्टरनेसनल नामक सूचना प्रविधि कम्पनीको स्वामित्व अमेरिकी कम्पनी टेकवे डिजिटलले खरिद गरेको हो ।
सन् २०२२ मा दुई युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सो कम्पनी स्थापना गरेका थिए । कम्पनीको सेवा न्यु आइटी सोल्युसन्सका रूपमा बलियो रूपमा स्थापित हुँदै जाँदा विदेशी कम्पनीले कम्पनी स्वामित्वको खरिद प्रस्ताव गरेको थियो । सुवेदीका अनुसार संयुक्त साझेदारीका विषयमा छलफल भए पनि पूर्ण स्वामित्व हस्तान्तरणको उपायमा सहमति जुटेको हो ।
सुवेदी भारतबाट चार्टर्ड एकाउन्टेन्ट पास गरेका नवयुवा हुन् भने शर्मा एरोनटिकल इन्जिनियर हुन् । “सूचना प्रविधिको क्षेत्रमा राम्रो उद्यमशीलता हुने आकलन गरेपछि यो कम्पनी सुरु गरेका हौँ,” सुवेदीले भन्नुभयो, “सोचे जस्तै कम्पनी अब्बल रूपमा स्थापित हुन पुग्यो र विदेशी लगानीकर्ताको आँखामा पर्यो । यो सेयर खरिद बिक्रीले नेपालको सूचना प्रविधि क्षेत्रलाई विश्व बजारमा पुर्याउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।”
एडेक्सले नेपालमा खल्ती बाई आइएमई, सानिमा बैङ्क, उपाय, डियरलोल्ड, एकबाना, एनआइसी एसिया क्यापिटल, विशाल गु्रप, घामपावरलगायतका संस्थालाई क्लाउड कन्सल्ट सेवा दिँदै आएको छ ।