रेखीराम राना
तानसेन, भदौ ७ गते । पाल्पामा डेंगु र स्क्रबटाइफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । साउन र भदौ महिनामा डेंगु र स्क्रबटाइफसका बिरामी बढ्दै गएको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।
पाल्पामा यो वर्षमात्र २५५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमा पाल्पाका मात्र १८५ जना रहेका छन् । यस्तै जिल्लामा २३८ जनामा स्क्रबटाइफसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार साउन र भदौ महिनामा डेंगु र स्क्रबटाइफसका बिरामीको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ ।
केही वर्ष अघिसम्म तराईका जिल्लामा मात्र देखिने डेंगु सङ्क्रमण पछिल्लो समय पाल्पाजस्ता पहाडी जिल्लाहरूमा बढी देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनुभयो । डेंगु नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन भए पनि प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमै डेंगुका बिरामी सबैभन्दा धेरै पाल्पाको रहेको बताउनुभयो ।
रुपन्देही जिल्लामा ८६ जना, दाङ जिल्लामा ६८, गुल्मीमा ५३, बाँकेमा ३४ जना डेंगु सङ्क्रमित बिरामी छन् । यस्तै अर्घाखाँचीमा ३० जना, बर्दिया र प्युठानमा १२/१२ जना, रोल्पामा नौ र रुकुममा तीन जना डेंगु सङ्क्रमित बिरामी रहेका छन् ।
स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको सङ्क्रमणले लाग्ने रोग हो । यो परजीवीलाई एक प्रकारको माइट (किर्ना वा जुम्रा जस्तो सुक्ष्म कीरा)ले सार्ने कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । स्क्रबटाइफस सङ्क्रमण भएपछि अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा आउने, ग्रन्थीहरू सुन्निने लक्षण देखिने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
डेंगु एडिस (एजिप्टाइ) जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । डेंगुको सङ्क्रमण भएमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुनेजस्ता लक्षणहरू देखापर्ने स्वास्थ्यकर्मी बताउँछन् ।