प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ ७ गते । जलस्रोत तथा सिँचाइ विभागको टोलीले रौतहटमा बागमती नदिको स्थलगत अनुगमन गरेको छ ।
नेपाल सरकार र भारत सरकारका प्रतिनिधि सम्मिलित बाढी तथा डुबानसम्बन्धी संयुक्त समितिको हुने बैठकको तयारी स्वरुप बागमती नदिको अवस्थाबारे जानकारी लिन जलस्रोत तथा सिँचाइ विभाग काठमाडौँको टोलिद्वारा स्थलगत अनुगमन, निरीक्षण गरिएको विभागका आपतकालीन व्यवस्थापन शाखाका सिडिइ सुष्मा चौधरीले जानकारी दिनुभयो ।
विभागबाट आएका टोलीलाई रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले राजदेवी नगरपालिका–६ स्थित विभिन्न स्थानमा बागमती नदिबाट भएको कटान र नियन्त्रणका प्रयासहरुको स्थलगत रुपमा अनुगमन, निरीक्षण गराउनुभएको हो ।
टोलीमा विभागका नदि तथा जल उत्पन्न विपद व्यवस्थापन महाशाखाका उपमहा निर्देशक डा. सन्तोष कैनी, जलाधार व्यवस्थापन महाशाखाका सिडिइ प्रेम लासिबा, आपतकालीन व्यवस्थापन शाखाका सिडिइ सुष्मा चौधरी, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका सिडिइ रबिन शर्मा, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडका, रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतसहितका पदाधिकारीहरु रहनुभएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो ।
नेपाली भूभागमा बाँधिएको बाँधकै उचाइमा भारत तिरबाट पनि बाँध बाँधिनु पर्ने, नो म्यान्स ल्याण्डमा समेत बाँध बाँधिनु पर्ने जस्ता कुरा बाढी तथा डुबानसम्बन्धी संयुक्त बैठकमा राखिने विभागका नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका उपमहानिर्देशक डा. कैनीले बताउनुभयो ।
हाल बाढीको पानी भारतबाट नेपाल आउने सम्भावना प्रवल रहेको उहाँको भनाइ छ । टोलीले शुक्रबार नै महोत्तरीको रातु नदीको अनुगमन निरीक्षण गरेको विभागका जलाधार व्यवस्थापन महाशाखाका सिडिइ प्रेम लासिबाले जानकारी दिनुभयो ।
बाढी तथा डुबानसम्बन्धी संयुक्त बैठकमा नेपाल सरकारका तर्फ बाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक तथा भारत सरकारका तर्फ बाट गङ्गा बाढी नियन्त्रण आयोगका अध्यक्षले नेतृत्व गर्ने गर्दछन् ।
नेपाल भारत सीमा क्षेत्रमा निर्मित सडक तथा अन्य पूर्वाधारका कारण हुने डुवान तथा निकासमा देखिएका समस्या समाधानका लागि बाढी तथा डुबानसम्बन्धी संयुक्त समितिले काम गर्ने गर्दछ ।